कारोबार संवाददाता
मंगलबार, बैशाख ३, २०७६
661

सिन्धुपाल्चोक-जस्ताको टहरामा कष्टकर जीवन बिताउँदै आएकी इन्द्रावती गाउँपालिका–११ स्थित विस्देउटारकी मनु माझी (१०६) आफूले नयाँ घर पाउने कार्यक्रममा सहभागीमात्रै भइनन् आफ्नो खुसीसमेत प्रकट गरिन् । वि.सं १९९०, २०४५ र २०७२ को भूकम्प अनुभव गरेकी उनले वृद्धा अवस्थामा भए पनि नयाँ घरमा बस्न पाउने सपना साकार भएको सुनाइन् ।“टहरामा बस्दा गर्मीयाममा निकै गाह्रो हुन्थ्यो,” उनले आफ्नो अनुभव सुनाइन्, “अब चाँहि केही राहत होला कि भन्ने आश छ ।” उनले टहराबाट मुक्ति मिलेकाले अझै केही वर्ष बाँच्ने आश पलाएको उत्साह पोखिन् । १०६ वर्ष टेकेकी मनु अझै टड्कारो आँखा देख्छिन् र स्पष्ट बोल्छिन् पनि । २०७२ को भूकम्पमा घरभित्रै रहेकी मनुसहित उनका परिवारलाई ढलेको घरले थिच्यो । तर, सबैभन्दा पहिला थिचिएको माटोबाट सबैभन्दा पहिला उनी नै उत्रिइन् । “हामीभन्दा पहिला उहाँ बाहिर निस्केर बस्नुभएको रहेछ,” ४९ वर्षीय उनका नाति देवचन्द्रले भने, “उहाँ पहिला निस्केर बसेको देख्दा हामी अचम्मैमा परेका थियौं ।”आर्थिक अवस्था कमजोर भएका कारण भूकम्पपछिका दिन मनुको परिवारलाई दैनिकी बिताउन निकै कष्ट भयो । ढलेको घरले थिचेका हात खुट्टाका चोट मनु सम्झिन्छिन् । पालको सकसमा केही महिना बसेपछि उनीहरू टहरामा आश्रय लिएका थिए । “यसरी घर बनाइदिने संस्था आउला र पक्की घरमा बस्न पाउँछौं भन्ने कल्पनामा पनि थिएन,” एकीकृत बस्ती हस्तान्तरण कार्यक्रममा सहभागी भएकी मनु भन्छिन्, “हाम्रो दुःखमा भगवान बनेर संस्था आएको रहेछ ।”महिला पुनःस्थापना केन्द्र (ओरेक)ले एइन् लक्जेम्वर्गको २८ लाख बराबरको आर्थिक सहयोगमा वृद्धा मनुको परिवारसहित ५६ वटा आवास बनाएको हो । नयाँ आवास निर्माणपछि नयाँ घरमा सर्ने पाउने उत्साहमा रहेकी उनीसँगै भूकम्प गएको चार वर्षपछि सुविधाजनक घर पाउँदा बिस्देउटारको माथिल्लो माझी टोलकी रत्नु माझीले ढुक्क महसुस गरेको सुनाइन् । “अब भने सुरक्षित भएको महसुस गरेकी छु, उनले भनिन् । भूकम्पमा बिस्देउटारका रहेका माझी बस्तीसँगै विद्यालय, मन्दिरहरू भत्केका थिए । बस्तीका सबै संरचना ध्वस्त हुँदा यहाँका १२ जनाले ज्यान गुमाएका थिए ।पुराना घरसहित शौचालयसमेत ध्वस्त भएकाले सिंगो ५६ परिवारका लागि बीचमा पर्ने गरी दुईवटा अस्थायी शौचालय निर्माण गरिएको थियो । “बस्ने, खानेमात्रै नभई शौचालय अभाव पनि प्रमुख आवश्यकताका रूपमा रहेको थियो,” देवचन्द्र भन्छन्, “अहिले भने सबै घरमा शौचालय निर्माण भएको छ ।” उनले ओरेकले निर्माण गरिदिएको घरमा एउटा किचेनसहित तीन कोठा रहेको बताए । बाहिर छुट्टै शौचालय पनि छ । जस्ताको छानासहित चिटिक्क रंग लगाएको घरमा आकर्षक झ्याल ढोका छन् ।पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ, इन्द्रावती गाउ“पालिकाका प्रमुख वंशलाल तामाङसहित वडाध्यक्ष मने माझीले एकीकृत बस्ती माझी परिवारलाई सुम्पिएका हुन् । ओरेक नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेका नुसार प्रतिआवासमा झण्डै ५ लाख खर्च भएको छ । “बीउबिजन वितरण, सुधारिएको चुल्होजस्ता विभिन्न जीविकोपार्जनसम्बन्धी अभियान कार्यक्रम माझी परिवारलाई केन्द्रित गरिसकेका छौं,” उनले भने । चेतनास्तर कम भएकाले माझी समुदायलाई एकीकृत बस्तीस“गै बाल र महिलामैत्री चेतनामूलक अभियान सम्पन्न गरिसकेको उनले बताए । “सुरक्षित वैदेशिक रोजगारी, मानव बेचविखन, सफा पानीलगायतका बारे चेतनासमेत प्रवाह गरिएको छ,” उनले भने ।इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङका अनुसार यो बस्तीमा माझी समुदायको संस्कृति झल्कने पूर्वाधारको समेत विकास गरिनु आवश्यक रहेको बताए । “एकीकृत बस्नी निर्माणसँगै पर्यटन प्रर्वद्धनका लागि अन्य पूर्वाधारको विकास गरिनु आवश्यक छ,” उनी भन्छन्, “माझी समुदायका साथै वडासँग समन्वय गरी अगाडि बढ्नेछौं ।” यो बस्ती इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका हुँदै बग्ने झ्याँडी खोला र इन्द्रावती नदिको संगमस्थल हो । इन्द्रावती नदी भने गाउँपालिका र मेलम्ची नगरपालिकाको सीमा हो । “संगमस्थलले यो गाउँको सौन्दर्यलाई निकै आकर्षक बनाएको छ,” गाउँपालिका महासंघका महासचिवसमेत रहेका वंशलालले भने ।विस्देउटारमा ठडिएको ५६ माझी परिवारको एकीकृत बस्ती । 

किशोर बुढाथोकी