कारोबार संवाददाता
मंगलबार, बैशाख ३, २०७६
695

पाल्पा-जिल्लाको रम्भा गाउँपालिका फोक्सिङ्कोटका महिलाले एक दिन झण्डै चार लाखको खसीबोका बिक्री गरेका छन् ।
व्यावसायिक बाख्रा पालन गर्दै आएका यहाँका महिलाले चैते दसैंको अवसरमा शुक्रबार एकै दिन तीन लाख ९० हजारको खसीबोका बिक्री गरेका हुन् । विगत चार वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आएका यहाँका महिलाले पछिल्लो समय उपहार सामाजिक महिला उद्यमी सहकारी संस्थामार्फत खसीबोका बिक्री गर्दै आएका छन् । हेफर इन्टरनेसनलको सहयोगमा बाख्रा उपहार कार्यक्रमबाट प्राविधिक सहयोगसमेत यहाँका महिलाले पाएका छन् ।
शुक्रबार उनीहरूले जिल्ला सदरमुकाम तानसेनको एउटा फ्रेस हाउसलाई एकै पटक ४१ वटा खसीबोका कुल नौ सय ९५ किलो खसीबोका बिक्री गरेका हुन् । स्थानीय उपहार सहकारी संस्थाका व्यवस्थापक कृष्णमाया पाँडेमगरका अनुसार हरेक वर्ष यहाँका महिलाले लाखौँ रूपैयाँको खसीबोका बिक्री गर्ने गरेका छन् । खसीबोका बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएपछि पछिल्लो समय छिमेकी गाउँका महिलासमेत व्यावसायिक बाख्रापालनमा लागेको सहकारी संस्थाकी अध्यक्ष गंगीसरा सिंजालीले बताइन् ।

अमृत अधिकारी