सागर परियार
मंगलबार, बैशाख ३, २०७६
671

जुम्ला-तातोपानी गाउँपालिका–६ का १३ वर्षीय रवि खड्का जुम्लाको रेडियो कर्णालीमा बाल बालिकाका विषयमा बालबाटिका कार्यक्रम सञ्चालन गर्छन् । दुर्गा मावि लाम्रामा कक्षा ९ मा अध्ययनरत खड्काको पछि पत्रकार बन्ने ठूलो चाहना छ ।
उनीजस्तै सोही विद्यालयमा कक्षा आठमा अध्ययनरत कर्ण कामी पनि रेडियो नारी आवाज जुम्लामा बालकालिकासम्बन्धी चेतनामूलक कार्यक्रम चलाउने तयारीमा छन् । आफूसँगै पढ्ने साथी रेडियोमा कार्यक्रम चलाउने भए पनि यहाँका बालबालिकामा पत्रकारिताप्रति मोह बढ्दै गएको पाइन्छ । रेडियोमा बोल्ने र पत्रिकामा समचार लेखेर बालबालिकाको हक अधिकार संरक्षण गर्ने तथा समाज सुधारमा योगदान पु¥याउने यहाँका रवि कर्णजस्ता सयौं बालबालिकामा जाँगर पलाएको छ । विद्यार्थीमा बाल पत्रकारितासम्बन्धी चाहना देखेर जुम्लाको दुर्गा मावि लाम्राले बाल पत्रकारितासम्बन्धी अभिमुखीकरण समेत सम्पन्न गरेको छ । बालबालिकामा देखिएको पत्रकारिताप्रतिको रुचिलाई उचित कदर गर्दै बाल पत्रकारिताको अभिमुखीकरण गराइएको प्रअ प्रेमबहादुर शाहीले बताए ।

अभिमुखीकरणमा सहभागी ४० जना बढी बालबालिका सहभागी थिए । सहभागी बालबालिकाले आफू भविष्यमा पत्रकारिता गर्न चाहेको उल्लेख गरे । कार्यक्रममै एकजना बालक कार्यक्रम सञ्चालक भए । जिल्लामै पहिलो पटक आयोजना गरिएको बाल पत्रकारिताको अभिमुखीकरणमा बालबालिकाको पत्रकारिता सम्बन्धीका प्रश्न सुनेर शिक्षक तथा प्रशिक्षक निकै खुसी भएका थिए । जसमा पत्रकारिताको मोह झल्किएको थियो ।
अभिमुखीकरणमा सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा सगिंता कामीले आफू भविष्यमा पत्रकारिता गर्न चाहेको बताइन् । उनले पनि प्राक्टिकल गरेर देखाइन् । “पत्रकारिताको माध्यमबाट समाज सेवा गर्ने मेरो लक्ष्य छ,” उनले भनिन्, “विशेषगरी महिलाका विषयमा केन्द्रित रिपोर्टिङ गर्नेछु । समाजमा छाउपढि, छुवाछुतलगायतका कुरिति अन्त्य गर्न समाजमा चेतना फैलाउँछु ।” उनका अनुसार बालबालिकाले पनि अवसर पाए समाज रूपान्तरणमा भूमिका खेल्न सक्छन् ।
विद्यार्थीकै सक्रियतामा आयोजना गरिएको अभिमुखीकरणमा बोल्दै विद्यालयका शिक्षक धनवीर परियारले बालबालिकालाई उनीहरूको चाहना अनुरुप अवसर दिएमा सोचेको सफलता हासिल गर्नसक्ने बताए । बालबालिकामुखी सिर्जनात्मक खालका कार्यक्रम स्थानीय तहले पनि गर्नुपर्ने उनको धारण छ । अभिमुखीकरणमा समाचार लेखन, रेडियो कार्यक्रम सञ्चालन, भित्रेपत्रिका प्रकाशनलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
बाल पत्रकारिता क्लब गठन
जुम्लामै पहिलो दुर्गा मावि लाम्रामा बालपत्रकारिता क्लब गठन गरिएको छ । दुर्गा माविका बालबालिकाको सक्रियता, विद्यालयको समन्वय र जिल्लास्थित क्रियाशील पत्रकारहरूको सहभागितामा क्लब गठन गरिएको छ । दुर्गा माविका विद्यार्थी जगदिश चौलागाईंको अध्यक्षतामा २० सदस्सीय पत्रकारिता क्लब गठन भएको छ ।
उपाध्यक्षमा संगिता कामी, कोषाध्यक्षमा सरस्वती आचार्य छन् । सचिवमा रेडियो कार्यक्रम प्रस्तोता रवि खड्का चयन भएका छन् । क्लबले आगामी दिनमा विद्यालयमा भित्तेपत्रिका प्रकाशन, सरसफाइ कार्यक्रम र अतिरिक्त क्रियाकलाप आयोजना गर्ने अध्यक्ष जगदिश चौलागाईंले बताए ।

 


सातामा धेरै पढिएको