कारोबार संवाददाता
आइतवार, बैशाख १, २०७६
264

गोरखा-जनता आवास कार्यक्रमअन्तर्गत यो वर्ष गोरखामा विभिन्न समुदायका २ सय ३७ घर बन्ने भएको छ । गत वर्ष छनोट भएका ८३ सहित २ सय ३७ घर बन्ने सहरी विकास तथा भवन कार्यालय गोरखाले जनाएको छ । गण्डकी प्रदेश सरकारले चालू आवमा जनता आवास कार्यक्रमका लागि ८ करोड ७९ लाख रुपैयाँ विनियोजन गरेको छ । गत वर्षको ८३ बाहेक बाँकी १ सय ५४ घर छनोट गर्न बाँकी छ ।
जनता आवास कार्यक्रम जिल्ला समन्वय समिति गोरखाको मंगलबार बसेको बैठकले यो वर्ष बन्ने घरको स्थान छनोट गरेको छ । गत वर्ष छनोट भएका जातीय समुदायलाई निरन्तरता दिँदै यो वर्ष लोपोन्मुख, अतिसीमान्तकृत, दलित, विपन्न, मुसलमान लगायतको घर बनाइदिने निर्णय भएको कार्यालयका प्रमुख झपटबहादुर थापाले बताए । “यो वर्ष चुमनुब्री, धार्चे र वारपाक सुलिकोट गाउँपालिकामा दलित, अजिरकोट र सिरानचोकका भुजेल, गोरखा र पालुङटार नगरपालिकाका वादी तथा मुस्लिम समुदायलाई पनि जनता आवास कार्यक्रममा समेट्ने निर्णय भएको उनको भनाइ छ ।

जनता आवास कार्यक्रममा समेटिएको जातीय समुदाय भए पनि भूकम्पपीडित लाभग्राही सूचीमा परेकाहरूले भने यो सुविधा नपाउने थापाले बताए । जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक तथा गण्डकी प्रदेशका भूमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाको संयोजकत्वमा बैठक बसेको हो ।
यसअघि संघीय सरकारअन्तर्गत रहेको जनता आवास कार्यक्रम यो वर्ष भने प्रदेश सरकार मातहत रहेको छ । कुन सरकार मातहत रहने भन्ने अन्योलका कारण गत आवमै निर्माण सुरु भएकामध्ये केही घरको रकम भुक्तानी गर्न बाँकी छ । जनता आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख, विपन्न, सीमान्तकृत, आर्थिक रूपले पिछडिएका, वार्षिक बजेट तथा कार्यक्रममा समावेश जातिहरूको घर सरकारले बनाइदिने गरेको छ । गत वर्षसम्म चेपाङ, कुमाल, माझी, दलित, बरामलगायत समुदायको घर बनाउँदै आइएको थियो । एउटा घर निर्माणका लागि सरकारले ४ किस्तामा ३ लाख ३२ हजार ५ सय रुपैयाँ अनुदान दिने गरेको छ ।