प्रकाश लम्साल
आइतवार, बैशाख १, २०७६
279

बारा-बजारमा पटक-पटक बिक्री गर्न खोजे पनि लागत मूल्यसमेत उठ्न नसक्ने भएपछि बारा निजगढका किसानले तरकारी खेती नष्ट गर्न थालेका छन् ।
मूल्य नहुँदा बजारसम्म पु-याउँदा पनि ढुवानी खर्चसमेत नउठने भएपछि किसानले तरकारी खेती नष्ट गर्न थालेका हुन् । साढे तीन दशक लामो तरकारी खेतीको अनुभव संगाल्दै आएका बारा निजगढ नगरपालिका–९ शान्तिटोलका तरकारी उत्पादक किसान चन्द्रप्रसाद बिडारीले आँफैले खेतमा रोपेको बन्दाकोभी यतिखेर ट्र्याक्टरले जोतेर नष्ट गर्दैछन् । १५ कठ्ठामध्ये तीन कठ्ठाको बन्दाकोभी बिक्री गर्न उनलाई निक्कै हम्मेहम्मे प-यो । अहिले बॉकी रहेको १२ कठ्ठामा ट्र्याक्टरले जोतेर तरकारी नष्ट गर्न थालेका छन् ।

भारतीय तरकारीको आयात बढ्दो हुँदा नेपाली तरकारीभन्दा भारतीय तरकारी बजारमा सस्तोमा बिक्री भएपछि बजार भाउ नपाउँदा नेपाली किसानले आफैले लगाएको तरकारी नष्ट गर्न थालेका हुन् । गत वर्षजस्तो बजार भाउमात्र पाउन सकेको भए पनि दुई-अढाई लाख रुपैयाँ यही तरकारी बन्दाकोभीबाट आम्दानी हुन्थ्यो । आफूले उत्पादन गरेको तरकारी हेटौंडा लगेर बिक्री गर्दै आइरहेको थिएँ, तर अहिले बन्दाकोभी बिक्री नभएकाले सम्पर्कमा रहेका व्यापारीले नपठाउन भनेपछि निराश भएर नष्ट गर्नुपरेको तरकारी किसान चन्द्रप्रसाद बिडारी बताउँछन् । उनले भने, “भारतीय तरकारी सस्तो मूल्यमा बजारमा गएपछि हाम्रो उत्पादनले बजार पाउन नसकेको हो ।
तरकारी खेती गर्ने जिल्लाका सयौं किसानको यतिबेला यही पीडा छ । भारतमा उत्पादन गरिएका तरकारीले नेपालमा राम्रो बजार पाएकाले पनि अहिले यहाँका तरकारी उत्पादन गर्ने किसान समस्यमा पर्दै आइरहेको यहाँका अधिकांश किसानको भनाइ छ । आफूले एक कठ्ठामा लगाएको बन्दाकोभी आधा-आधीजस्तो मात्र बिक्री गर्न सकिएकाले अरु गाई वस्तुलाई खुवाउने गरेको अर्का पीडित तरकारी किसान होमप्रसाद धिताल बताउँछन् ।
सिम्रौनगढ, बारागढी लगायतका ६ स्थानीय तहमा अधिकांश तरकारीखेती गर्दै आएका किसानको पीडा पनि उस्तै छ । उनीहरूले अब तरकारी खेतीभन्दा अन्य नगदे खेती गर्ने सोच बनाउन थालेका छन् ।