कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६
742

बडादशैंका अवसरमा घटस्थापनाको दिनदेखि दशमीको दिनसम्म १० दिन पूजाअर्चना गरिने सो मन्दिरमा चैते दशैंमा भने आठ दिनसम्म विशेष पूजा गरिन्छ । कालिका मन्दिरमा पूजा गरिएको प्रसाद राजालाई पठाउने चलन थियो । तर, गणतन्त्र स्थापनापछि राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपतिलाई पठाउन थालिएको छ ।

लमजुङ-वि.सं. १५५० सालदेखि राजाको नाममा पूजाअर्चना हुँदै आएको लमजुङ कालिका मन्दिरमा गणतन्त्र स्थापनापछि पनि सरकारी बली दिने परम्पराले निरन्तरता पाएको छ । तर सरकारी बजेट समयानुकूल नहुँदा पूजा सम्पन्न गर्न समस्या भएको छ ।
लमजुङस्थित गाउँशहर कालिका मन्दिरमा बडादशैंका बेला सरकारका तर्फबाट सरकारी बली चढाउने परम्परा छ । गुठी संस्थानले जिल्ला मालपोत कार्यालयमार्फत् प्रत्येक वर्ष २७ वटा बोका, एउटा भेडा, छ वटा राँगा, एउटा सुँगुर र एउटा कुविण्डो बली दिने प्रचलन छ । सरकारी तवरबाट यतिका बली चढाउनको निम्ती बजेट विनियोजन हुने गरे पनि समयसापेक्ष रकम पर्याप्त नहुँदा पूजा सम्पन्न गर्न कठिन भएको मन्दिरका पुजारी माधव प्रसाद बरालले बताए ।
“दशकौँअघिको दरमा रकम आउँछ । अहिले त्यो मूल्यमा बोका, राँगो पाउनै सकिँदैन,” उनले भने । सरकारले बोका खरिदको लागि प्रतिगोटा ४८ सय, राँगोको लागि १२ हजार र पुजारी तथा सहयोगीहरुको लागि ६८ हजार रुपैयाँ दिँदै आएको छ । पुरानो चलन अनुसार बजेट आएपनि समय सापेक्ष बजेट नआउँदा पूजा सम्पन्न गर्न कठिन भएको हो । पहिले पहिले सोहि बजेटमा रहेर मालपोतका कर्मचारी आफंै खटिएर बली व्यवस्थापन गर्ने गरेका थिए । तर पछिल्ला वर्षहरुमा थोरै बजेटमा बली व्यवस्थापन गर्न कठिन भएपछि एकमुष्ठ रकम मन्दिरलाई दिने गरेको मालपोत कार्यालयले जनाएको छ ।
कार्यालयका अधिकृत ईश्वरीप्रसाद बसौलाका अनुसार यसवर्षको चैते दशैंका लागि १९ वटा पाठो, दुईवटा राँगो, एउटा भेडा र एउटा सुँगुरको लागि बजेट आएको छ । कार्यालयबाट बली व्यवस्थापन गर्न कठिन भएपछि एकमुष्ठ रकम मन्दिरलाई उपलब्ध गराइएको बसौलाले बताए ।
बडादशैका अवसरमा घटस्थापनाको दिनदेखि दशमीको दिनसम्म १० दिन पूजाअर्चना गरिने सो मन्दिरमा चैते दशैमा भने आठ दिनसम्म विशेष पूजा गरिन्छ । कालिका मन्दिरमा पूजा गरिएको प्रसाद राजालाई पठाउने चलन थियो । तर गणतन्त्र स्थापनापछि राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपतिलाई पठाउन थालिएको छ ।
मालपोत कार्यालय लमजुङले सरकारका मुख्य सचिव, गुठी संस्थानका अध्य, गुठी प्रशासक, भूमि सुधार तथा व्यवस्था मन्त्रालयका सचिव, भूमि सुधार तथा व्यवस्था विभागका महानिर्देशक लगायतलाई पनि प्रसाद पठाउने चलन छ । दशैका बेला लमजुङसहित तनहुँ, कास्की, गोरखा, चितवन, काठमाडांैलगायतका ठाउँबाट पनि सर्वसाधारणले लमजुङ कालिका मन्दिरमा बली चढाउने गर्दछन् ।

सन्देश पौडेल