कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६
717

नेपाल रेडक्रस सोसाइटीको प्रदेश नं ३ को निर्वाचन सम्पन्न भएको छ । प्रदेश समितिको नेतृत्वका लागि पहिलो पटक भएको निर्वाचनमा भोलानाथ रुपाखेती अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै नुवाकोटका रामजी पौडेल महासचिवमा र कोषाध्यक्षमा सिन्धुपाल्चोकका भरत बस्नेत निर्वाचित भएका छन् । यसअघि प्रदेश सभाको कार्यक्रमको ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गरेका थिए ।
नेरेसोका सबै प्रदेशको निर्वाचन सम्पन्न भएको रेडक्रसले जनाएको छ । तीमध्ये प्रदेश १, प्रदेश २, गण्डकी, ५ र ६ नम्बर प्रदेशका कार्यसमिति निर्विरोध चयन भएका छन् । ३ नम्बर र सुदूरपश्चिममा भने निर्वाचनबाट नेतृत्व चयन भएको छ । प्रदेश नं १ को शुक्रबार सम्पन्न निर्वाचनमा धनकुटाका नरेन्द्र पोखरेल प्रदेश समितिको अध्यक्षमा र मोरङका ऋषिकेश कोइराला महासचिवमा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै झापाका ओम प्रकाश गौतम कोषाध्यक्ष र झापाकै कृष्ण मैनाली उपमहासचिवमा चयन भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्य समितिको चैत २६ गते भएको निर्वाचनमा अध्यक्ष पदमा कञ्चनपुरका केशवदत्त पन्त निर्वाचित भएका छन् भने उपाध्यक्षमा जीवन राना, महासचिवमा देव बोहरा र कोषाध्यक्षमा हर्कराज शर्मा चयन भएका छन् ।
नेपाल रेडक्रसको गण्डकी प्रदेशको समितिमा कास्कीका सूर्य प्रसाद ढकाल अध्यक्ष र महासचिवमा बलराम आचार्य निर्विरोध निर्वाचित भएका भएका छन् । त्यस्तै चैत २२ मा महोत्तरीमा सम्पन्न २ नम्बर प्रदेशको सभाले पर्साका फूल महमद मिँयाको अध्यक्षतामा प्रदेश कार्यसमितिको निर्वाचन गरेको छ । महासचिवमा सिरहाका चन्द्रेश्वर मण्डल र कोषाध्यक्षमा बाराका दिव्यनाथ श्रेष्ठ निर्वा्चित भएका छन् ।
५ नं प्रदेशको प्रथम प्रदेश अधिवेशनले अर्घाखाँचीका शम्भु पोख्रेललाई अध्यक्ष, रुपन्देहीका कृष्ण पगेनीलाई महासचिव र कोषाध्यक्षमा बाँकेका राजकुमार बर्मालाई निर्वाचित गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश समितिको अध्यक्षमा दैलेखका भेषबहादुर थापा र महासचिवमा सुर्खेतका कृष्णबहादुर थापासहित समितिमा १२ जना पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका छन् । यसैबीच केन्द्रीय सभाको मिति पनि तय भएको छ । नेपाल रेडक्रसको केन्द्रीय सभाको अधिवेशन वैशाख २३ देखि २५ सम्म सुनसरीमा आयोजना हुने रेडक्रसले जनाएको छ ।