कारोबार संवाददाता
आइतवार, चैत्र १०, २०७५
413

बागलुङ-जिल्लाको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले नगर क्षेत्रभित्रका नागरिकलाई निःशुल्क बस सेवा सुरु गरेका छन् । नेपालीले नगर क्षेत्रभित्रका ज्येष्ठ नागरिक, अपांगता भएका नागरिक, विधवा, एकल महिला र जटिलखालका बिरामीले निःशुल्क यातायात सुविधा उपलब्ध गराउने भएका हुन् ।
आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्न निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको नगर प्रमुख नेपालीले बताए । नेपालीले बुर्तिवाङमा पत्रकार सम्मेलनको आयोजना गरी नगरस्तरका जेष्ठ नागरिक, अपांता भएका नागरिक र जटिल खालमा बिरामीहरूका लागि निःशुल्क यातायात सुविधा उपलब्ध गराउने बताएका हुन् । उक्त सेवा जिल्ला सदरमुकाम बागलुङ बजार र प्रदेश राजधानी पोखरासम्मका लागि उपलब्ध हुनेछ । नागरिक ओहोरदोहोर गर्दा लाग्ने खर्च नेपाली आफंैले व्यक्तिगत रूपमा बेहोर्ने बताए । “स्थानीय तहको निर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न यो काममा होमिएको हुुँ,” नगरप्रमुख नेपालीले भने, “निःशुल्क यातायात सेवा निरन्तर रूपमा सञ्चालन गरिरहने कुरामा म प्रतिबद्ध छु ।”

बुर्तिबाङमा रहेका जुनसुकै यातायात समितिबाट लक्षित नागरिकले सेवा लिनसक्ने नेपालीको भनाइ छ । सेवा प्राप्त गर्नका लागि लक्षित समूहका नागरिकले आफ्नो परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि लिएर यातायात समितिमा सम्पर्क राख्नु पर्नेछ । “तत्कालका लागि परिचय खुल्ने कागजातको माध्यमबाट सेवा दिए पनि छिट्टै परिचय पत्रको व्यवस्था गर्नेछु,” नगरप्रमुख नेपालीले भने । नेपालीले लक्षित नागरिक छनोट र उनीहरूको सेवाका लागि बुर्तिबाङका यातायात समितिलाई जिम्मेवारी दिइसकेका छन् । सेवावापतको रकम आफूले मासिक रूपमा यातायात समितिलाई भुक्तानी गर्ने नेपालीले बताए ।
बस सेवालाई व्यवस्थित र मर्यादित बनाउन कार्यविधि निर्माण समितिसमेत गठन गरिएको छ । ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलको संयोजकत्वमा ५ सदस्यीय कार्यविधि निर्माण समिति गठन गरिएको हो । “नगरप्रमुखज्यूले सञ्चालन गर्ने बस सेवालाई ब्यवस्थित गर्ने कार्यविधि निर्माण समितिको संयोजकको जिम्मा पाएको छु,” अधिकृत पोखरेलले भने, “छिट्टै कार्यविधि बारे टुंगो लगाइने छ ।” जनप्रतिनिधिले नागरिकको सेवामा निरन्तर लागि पर्नु निकै सकारात्मक भएको उनले टिप्पणी गरे । नगरप्रमुख नेपालीले निर्वाचनको प्रचारक्रममा नगर प्रमुखमा विजय भएमा बागलुङ सदरमुकाम हुँदै प्रदेश सदरमुकाम पोखरासम्म निजी खर्चमा निःशुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरेका थिए ।
राज्यबाट प्राप्त हुने सेवा सुविधासमेत नलिएर जनताको सेवामा लागिरहेका नगर प्रमुख नेपालीले आफू निर्वाचित क्षेत्रमा विभिन्न सामाजिक काम गर्दै आइरहेका छन् । नेपालीले यस अगाडि जिल्लाको पश्चिमका स्थानीय तहमा व्यक्तिगत लगानीमा विद्यालयमा शिक्षकको व्यवस्था, अक्षय कोष स्थापना, बाढी, पहिरो, आग्निपीडित, गरिब, दलित, विपन्न परिवार, विभिन्न कारण विपत्तिमा परेकालाई आर्थिक सहयोग, सामाजिक क्लब संघसंस्थाको भवन निर्माणलगायतका सामाजिक कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।
ढोरपाटन नगरपालिकासहित बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकाका विद्यालयमा व्यक्तिगत रूपमा आफूले तलबभत्ता दिने गरी करिब ५५ जनाभन्दा बढी शिक्षकको व्यवस्था, अक्षय कोषको स्थापना, कम्प्युटर सहयोग, क्लब तथा आमा समूहलगायतका सामाजिक संघ संस्थाको भवन निर्माणमा आर्थिक सहयोग गरिसकेका छन् । नेपालीले ढोरपाटन नगरपालिकाभित्र खरको छानो भएका, बाढी तथा पहिरोका कारण घरवास गुमाएका गरिब, दलित तथा विपन्नका गरी ४ सय ६० घरपरिवारलाई आफ्नै व्यक्तिगत लगानीमा घर छाउनका निम्ती जस्तापाता उपलब्ध गराइसकेका छन् ।

त्रिलोचन रिजाल