कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
372

जापानमा प्रवासी जीवन बिताइरहेका कृष्ण कार्कीको सहयोगमा झापा र मोरङको सिमानामा पर्ने रतुवामाई खोलाका बाढी पीडितहरुका लागि ६ वटा घर निर्माण कार्य सम्पन्न भएको छ । बस्ती निर्माण अभियानले बुधबार पत्रकार सम्मेलनमार्फत् यो जानकारी दिएको हो ।
आफ्नो ३४ औं जन्मदिनको अवसर पारेर पीडितको घर निर्माणमा चासो देखाएका समाजसेवी कार्कीले आफ्नो एकल लागत २० लाखत रुपैयाँमा निर्माण भैरहेको उक्त योजनका बाँकी चार वटा घरको निर्माण कार्य पनि चाँडै सम्पन्न गर्ने अभियानले बताएको छ । पत्रकार सम्मेलनममा योजनाका संयोजक चूडामणि कार्कीले शुरुमा वास्तविक पीडितको पहिचान गर्दा समय लागेको जानकारी गराए । पीडितमध्ये अशक्त तथा जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राख्न खोज्दा स्थानीय राजनीतिक समूहको दबाबका कारण दशवटै घर निर्माणमा समस्या भएको उनको गुनासो छ ।

यो वर्षको वर्षा शुरु हुनुपूर्व नै उक्त योजना सम्पन्न गर्ने अभियान रहेपनि स्थानीयको अवरोध तथा दबाबका कारण समय लम्बिएको पनि उनको भनाइ छ । स्थानीय परिवेशअनुसारकै घर निर्माणमा लागेको जानकारी गराउँदै उनले बन्न बाँकी चार घरका वास्तविक पीडितहरुको छनोट भैसकेपछि निमार्ण कार्य सुचारु हुने बताए ।
अर्का अभियानकर्ता चित्रकुमार कार्कीले योजना निर्माणस्थलमा विभिन्न समस्याहरु रहेको जानकारी गराए । अहिले बाढीले बस्ती बगाएसँगै गाँउभरिमा एकमात्र खानेपानीको धारा रहेकाले शुद्ध पिउने पानीको अभाव देखिएको उनले बताए । उनका अनुसार २१ परिवारले एकमात्र शौचालयको प्रयोग गर्दै आएका छन् ।
कार्यक्रममा स्थानीय राम गुरुङले बस्ती निर्माणपूर्व त्यहाँको अवस्था निकै नै दयनीय रहेकोे जानकारी गराए । उनले भने, “अहिले गाउँको पुनर्निर्माणले पीडितहरुको घाउमा मलमको काम गरेको छ ।”
विराटनगरका स्थानीय कृष्ण कार्की हाल जापानमा बसेर नेपालमा विभिन्न समाजसेवामा सक्रिय रहँदै आएका छन् । केही समय अगाडिमात्र आमाको मृत्यु भैसकेपछि बाबुद्वारा सडकमा फालेर हिँडेका दुईजना जम्ल्याहा छोरीको शिक्षामा कक्षा १ देखि १२ सम्मको सम्पूर्ण पढाइ खर्च उनले विद्यालयको बैँक खातामा जम्मा गरिसकेका छन् । चैत २ गते औपचारिक कार्यक्रम आयोजना गरेर बस्ती हस्तान्तरण गर्ने योजनामा निर्माण समूहको छ ।