कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
406

पाँचौं साफ महिला च्याम्पियनसिप

विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिपमा साविक विजेता भारतले माल्दिभ्सविरुद्ध सहज जित निकालेको छ । विराटनगरस्थित सहिद रंगशालामा बुधबार भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० को पराकिलो गोलले पराजित गरेको हो ।
भारतको जितमा सञ्जुले २ गोल गरिन् । ग्रेस डाङमी, सन्धिया रङ्गनाथन, इन्द्रमती काथिरसेन र रतनबाला देवी नोङमाइथेमले एक–एक गोल गरे । भारतको महिला साफमा अहिलेसम्म पराजितको मुख हेर्नु परेको छैन । भारतले यसअघि महिला साफमा १९ खेलको अपराजित यात्रा गरेको छ । भारतले खेलको आठौं मिनेटमा नै अग्रता लिएको थियो ।

भारतका लागि ग्रेस डाङमीले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । पहिलो गोल गरेको ५ औं मिनेटमा सन्धिया रङ्गनाथले गोल गर्दै भारतको अग्रतालाई दोब्बर पारिन् ।
खेलको २२ औ मिनेटमा भारतकी इन्दुमती काथिरसेनले गोल गर्दै भारको अग्रता ३–० बनाइन् । २७ औ मिनेटमा सञ्जुले गोल गर्दै भारलाई ४–० को अग्रता दिलाइन् । निकै नै आक्रामक देखिएको खेलको पहिलो हाफको इञ्जुरी समयमा रतनबालादेवी नोन्गामाइथिमले गोल गर्दै भारतलाई पहिलो हाफमा ५–० गोलको अग्रता दिलाइन् । रतनबालादेवीले डिबक्स नजिकबाट गरेको प्रहारलाई माल्दिभ्सकी गोलकिपर अमिनाथ लिजाले जर्ज गर्न नसक्दा बलले जाली चुमेको थियो ।
पहिलो हाफमा ५–० को फराकिलो गोलअन्तरको अग्रता बनाएको भारतले दोस्रो हाफमा आक्रामक खेल खेलेको थियो । तर, माल्दिभ्सले भने रक्षात्मक खेल खेल्यो । खेलको ९० औं मिनेटमा भारतका लागि सञ्जुले थप गोल गर्दै भारतलाई ६–० को फराकिलो गोलको जित दिलाएकी हुन् ।
सञ्जुले व्यक्तिगत २ गोल गरिन् । सुरुदेखि नै आक्रमण खेल खेलेको भारतले गोल गर्ने राम्रो मौका गुमाएपछि थप गोल गर्न चुकेको थियो । खेल अवधिभर भारतले माल्दिभ्सलाई दबाबमा राखेको थियो ।
प्रतियोगिताअन्तर्गत बिहीबार बंगलादेशले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । साफको यसअघि सम्पन्न चारै प्रतियोगिताको उपाधि भारतले उचालेको थियो । भारतले अहिलेसम्म १९ वटा साफ प्रतियोगितामा पराजय व्यहोरेको छैन । सन् २०१६ को एसियन गेम्समा भारतले माल्दिभ्ससँग खेलेको थियो । सो खेल गोलरहित बराबरीमा सकिएको थियो । प्रतियोगिताको बलियो टोली भारतको प्रदर्शनमाथि नेपाल र बंगलादेशले पनि महत्वका साथ हेर्नेछन् । मंगलबार सम्पन्न उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले हराउँदै समूह चरणमा ३ अंक जोड्न सफल भएको छ ।

डण्डीबियो प्रतियोगिता शुरु
राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो माध्यमिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिता बुधबारदेखि शुरु भएको छ । त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेको उक्त प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र धादिङका गरी २० टोलीको सहभागिता रहेको राखेपअन्तर्गत खेलकूद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जानकारी दिए ।
नेपाल डण्डीबियो सङ्घको समन्वयमा भएको उक्त प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १५ हजार तथा तेस्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।