कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
375

दमौली-नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् बक्यौता नबुझाउने ६ सय १६ ग्राहकको लाइन काटेको छ । केन्द्रले चालू आव ०७५-७६ को फागुन अन्तिम सातासम्म विद्युत् महशुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटेको हो ।
६० औं दिनभन्दा बढी समयसम्म महशुल नतिर्ने ग्राहकको लाइन दैनिक रूपमा काटिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । उनका अनुसार कारबाही गरिएका ग्राहकले धमाधम बक्यौता रकम बुझाउन थालेका छन् । वितरण केन्द्रले चालू आवमा ६ सय १६ ग्राहकको लाइन काटेकोमा ५ सय ३ ग्राहकले विद्युत् महशुल बक्यौता तिरेको गोशलीले जानकारी दिए । ती ग्राहकबाट १ करोड ६३ हजार ८ सय ६१ बक्यौता असुल भएको छ । बक्यौता रकम बुझाएपछि ग्राहकको लाइन पुनः जोडिएको केन्द्रले जनाएको छ ।

विद्युत् महशुस संकलन विनियमावली २०७३ को विनियम ७ को उपविनियम ३ अनुसार मिटर रिडिङ गरेको सात दिनभित्र महशुल बुझाउने ग्राहकलाई २ प्रतिशत छुट दिइन्छ भने आठ दिनदेखि २२औं दिनभित्र महशुल बुझाएमा बिलअनुसारको महशुल लाग्नेछ ।
त्यस्तै मिटर रिडिङ गरेको २३औं दिनदेखि ३०औं दिनसम्म विद्युत् महशुल बुझाएमा ५ प्रतिशत थप दस्तुर लाग्नेछ । विनियमावलीमा उल्लेख भएअनुसार मिटर रिडिङ गरेको ३१औँ दिनदेखि ४०औं दिनसम्म विद्युत् महशुल नबुझाएमा १० प्रतिशत थप दस्तुर लाग्छ भने ४१औं दिनदेखि माथि थप २५ प्रतिशत दस्तुर लाग्नेछ । विनियमावलीको विनियम १० अनुसार मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महशुल नबुझाएमा बिना सूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काट्नसक्ने व्यवस्था रहेको गोशलीले जानकारी दिए ।

अस्पतालले ति-यो बाँकी बक्यौता
विद्युत् उपयोग गरेवापत सबैभन्दा बढी बक्यौता रहेको दमौली अस्पतालले समेत बाँकी बक्यौता तिरेको छ । केन्द्रले पटक–पटक विद्युत् महशुल तिर्न अस्पताललाई ताकेता गरेपछि अस्पतालले ३४ लाख ५६ हजार ४ सय ३५ रुपैयाँ तिरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अस्पतालले पुस महिनामा १५ लाख ७२ हजार ४ सय ३५ र फागुनमा दुई किस्तामा ४ लाख ३६ हजार ९ सय ३५ र १४ लाख ५७ हजार ६५ रुपैयाँ चुक्ता गरेको छ । उक्त रकम तिरेपछि अस्पतालको नाममा कुनै बाँकी बक्यौता नरहेको केन्द्रले जनाएको छ ।