घनश्याम पौडेल
सोमवार, माघ २८, २०७५
578

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौरकी मनकला दमैले ६३ वर्षको उमेरमा नागरिकता बनाइन् । हुमबहादुर दमैकी श्रीमती मनकलाले अहिलेसम्म नेपाली नागरिकताको प्रमाणपत्र बनाएकी थिइनन् । निर्वाचनको समयमा गाउँमै नागरिकता टोली गए पनि उनलाई नागरिकता बनाउनुपर्छ भन्ने थाहा थिएन । उनलाई प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले नागरिकता हस्तान्तरण गरे ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले गाउँघरमै गएर जनतालाई सेवा दिएको छ । भूमिकास्थान नगरपालिकाको समन्वयमा भएको घुम्ती शिविरमा उनीजस्तै ८० जनाले गाउँबाटै नागरिकता प्राप्त गरे । मनकलाले अहिलेसम्म मतदान गरेकी छैनन्, नागरिकता पाएपछि उनले मतदाता नामावलीमा नाम पनि लेखाइन्, उनी आउँदो निर्वाचनमा मतदान गर्न पाउने गरी ढुक्क भएर बसिन् ।

जनजागृति मावि कक्षा १० मा अध्ययन गर्ने शारदा खासुले पनि १६ वर्षको उमेरमै नागरिकता बनाइन् । दिनभरको अध्ययन सकेपछि घुम्ती शिविरमा घरबाट आमालाई ल्याई उनले नागरिकता बनाइन् । उनलाई नागरिकता बनाउनकै लागि सदरमुकाम धाइरहनु परेन । उनीहरूजस्तै धेरैले नयाँ नागरिकता र प्रतिलिपि प्राप्त गरे ।
६८ वर्षकी धनचौर डढुवाकी कामिकाली कामीले स्वास्थ्य परिक्षण गराइन् । उनले आफ्नो तौल, बीपी, ढाड दुःखेको, पाठेघर समस्यालगायतका रोगको उपचार गराइन् । उनले उपचार गराउँदा स्वास्थ्य संस्थाले दिएको निःशुल्क पनि औषधी पाइन् ।
जिल्ला प्रशासनले जनतालाई सहज होस् भनी प्रत्येक वर्ष घुम्ती शिविर सञ्चालन गर्ने गर्दछ । शिविरमा ८० वटा नागरिकता वितरण, २३१ जनाको जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य परीक्षण, २५१ जनाले जिल्ला आयुर्वेद कार्यालयमार्फत स्वास्थ्य परीक्षण, सिमकार्ड वितरण, कृषि ज्ञान केन्द्रले माटो परीक्षण, उद्योग दर्ता, निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउने काम गरेको थियो । जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी तथा विद्यालय प्रहरी सम्पर्क कार्यक्रमअन्तर्गत लागू औषध, मदिरा सेवन, लैंगिक हिंसा, जबरजस्ती करणी, सामाजिक तथा साइबर अपराध एवं सवारी दुर्घटनासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
शिविरबाट ६०० जना सेवाग्राहीले लाभ लिएका छन् । प्रतिकूल मौसम भए पनि घरदैलोमै सेवा लिन पाउँदा धनचौरवासी हर्षित थिए । धनचौरमा जिल्लामै पहिलोपटक भएको शिविरमा धेरैले लाभ लिएको प्रजिअ लामिछानेको भनाइ छ । अर्को घुम्ती शिविर फागुन ३ गते भूमिकास्थानको धारापानीमा हुने सहायक प्रमुख जिल्ला अधिकारी विष्णु बेल्वासेले जानकारी दिए ।
जिल्लाको विकट मानिएको धनचौरमा रहेका व्यापार व्यवसाय पनि अनुगमन गरिएको छ । अनुगमनबाट स्थानीयलाई सुझाव र सल्लाहसमेत दिइएको छ । भूमिकास्थान नगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको प्राविधिक सहयोगमा धनचौरमा निर्माण भएको हेलिप्याड नगरप्रमुख रेशम थापा, प्रमुख जिल्ला अधिकारी प्रेम लामिछाने, उपप्रमुख खडानन्द बेल्वासेलगायतको उपस्थितिमा वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
सदरमुकाम सन्धिखर्क नेपाली सेनाको व्यारेकमा बाहेक ग्रामीण क्षेत्रमा जिल्ला बाहिरमा नै पहिलोपटक हेलिप्याड बनेको हो । नगरप्रमुख रेशम थापाले भूमिकास्थानका सबै वडामा हेलिप्याड निर्माण गर्ने बताएका छन् । उनले आपतविपत परेको समयमा १ घण्टामै हेलिकप्टर भूमिकास्थानमा ल्याउन सकिने गरी कार्ययोजना बनाएर अगाडि बढ्ेको बताए ।
जिल्लाको विकट भनेर चिनिए पनि साविकको धनचौर गाविसले विकास निर्माणमा क्रमशः फड्को मार्दै गइरहेको छ । जिल्लाकै पर्यटकीयस्थल सेङलेङ दह पनि यही क्षेत्रमा पर्दछ । दहको संरक्षण र प्रचारप्रसारमा नगरपालिका लागिपरेको उपप्रमुख बेल्वासेले बताए ।


सातामा धेरै पढिएको