महादेव अवस्थी
आइतवार, माघ ६, २०७५
412

कन्चनपुर-नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ लागू भएपछि कन्चनपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेको पाइएको छ । पुरानो मुलुकी ऐन विस्थापित भएर नयाँ मुलुकी देवानी संहिता ऐन लागू भएपछि पुरुषले पनि सिधै अदालतमा गएर मुद्दा दर्ता गर्न पाउने ब्यवस्था भएकाले सम्बन्ध विच्छेदका मुद्दा बढेको हो ।
भाद्र १ गतेदेखि लागू भएको नयाँ कानुनपछि ५ महिना पूरा नहँुदै कञ्चनपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका ४९ मुद्दा दर्ता भएका छन् । जसमा २५ वटा मुद्दा पुरुषले दर्ता गरेका छन् ।

पुरानो कानुनअनुसार साता दिन नपुगी पनि सम्बन्ध विच्छेद गराएका घटना भएको भए पनि नयाँ कानुनअनुसार सम्बन्ध विच्छेदको मुद्दा दर्ता पश्चात मेलमिलाप गराइने र त्यसपछि मात्र सम्बन्ध विच्छेदको प्रक्रिया अगाडि बढाइने जिल्ला अदालत कन्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए ।
नयाँ कानुन लागू भएपछि अन्य प्रकारका मुद्दामा कमी आएको भए पनि सम्बन्ध विच्छेदका मुद्दा बढेको कन्चनपुर जिल्ला अदालत महेन्द्रनगरका श्रेस्तेदार अवस्थीले जानकारी दिए । उनले भने, “भदौदेखि पुरुषले मुद्दा दर्ता गर्ने क्रम बढेको छ आफ्नो अधिकार प्रयोग गरेर होला ।” उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष अन्य मुद्दा घटेका छन् । श्रेस्तेदार अवस्थीले भने, “नगरपालिकामा न्यायिक समिति बनेपछि मुद्दाहरू तुलनात्मक रूपमा घटेका छन् र तर सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् ।”
गत भाद्रदेखि नयाँ कानुन लागु भएसँगै पुरुषले आप्mनो हक प्रयोग गर्दै सिधै अदालतमा मुद्दा दर्ता गर्न पाउने भएका कारण सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको जिल्ला अदालत कन्चनपुरले जनाएको छ । कन्चनपुर जिल्ला अदालत महेन्द्रनगरका अनुसार आव ०७४÷७५ मा सम्बन्ध विच्छेदका ४३ मुद्दा दर्ता भएका थिए ।