कारोबार संवाददाता
शुक्रवार, माघ ४, २०७५
550

लमजुङको बेसीसहर नगरपालिकाले आफ्नो नारा तय गरेको छ । नगरभित्रको कृषि, पर्यटन, पूर्वाधार र संस्कृतिलाई समेट्दै दीर्घकालीन विकासका लागि नारा तय गरेको हो ।
नगरपालिकाले एक बृहत् छलफल गरी ‘कृषि, पर्यटन र पूर्वाधार–सुसंस्कृत र समृद्ध बेसीसहर’ भन्ने नारा तय गरेको हो । नगर कार्यपालिका, राजनीतिक दल र बेसीसहरका बुद्धिजीवी तथा सरोकारवालाको छलफलबाट आधिकारिक नारा तय गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए ।

सहरी विकास तथा भवन निर्माण विभागको कार्यक्रमअन्तर्गत परामर्श निकायको समन्वयमा भएको कार्यक्रममा भौतिक पूर्वाधार विकास, सामाजिक तथा सांस्कृतिक पक्ष, आर्थिक विकास, वातावरण व्यवस्थापन, जोखिम न्यूनीकरण तथा संस्थागत विकासका बारेमा छलफल गरी सुझाव संकलन गरिएको थियो । स्थलगत अध्ययन, छलफलबाट आएको सुझाव र नगरपालिकाको अवस्थालाई ध्यानमा राखी दीर्घकालीन योजना निर्माण गर्ने लक्ष्य राखेको नगरपालिकाले जनाएको छ । भर्खरै मात्र नारा तय गरेको नगरपालिकाले स्थलगत अध्ययन, छलफल र आवश्यक परामर्श गरी आगामी चैत मसान्तसम्म दीर्घकालीन योजना तय गरिने बताइएको छ ।

जिल्लामै पहिलो पटक नगर प्रहरी
लमजुङको पहिलो नगरपालिकाले जिल्लामै पहिलो पटक नगर प्रहरी परिचालन गरेको छ । सदरमुकामसमेत रहेको बेसीसहर बजारलाई व्यवस्थित राख्न नगरपालिकाले नगर प्रहरी परिचालन गरेको हो ।
बेसीसहर बजारको मनाङे चौतारादेखि सेराचोकसम्मको करिब १ किलोमिटर सडक दायाँ–बायाँ गस्ती हिँडेर नगर प्रहरीले बिहीबारबाट बजार व्यवस्थापनको सुरुवात गरेको छ । नगरपालिकाले एकजना असई, एकजना हवल्दार र ७ जना जवानसहित ९ जना भर्ना गरिएको जनाएको छ ।
नगरप्रहरीले बजारमा जथाभावी पार्किङ नगर्न, जथाभावी फोहोर नगर्न सचेतनासँगै बजारमा सवारी र मानिसलाई अप्ठ्यारो पार्ने गरी सञ्चालन गरिएका ठेलागाडा व्यवस्थित गर्ने लगायतका काम गर्ने नगर प्रमुख गुमान सिँह अर्यालले बताए । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकारको प्रयोग गरेर नगर प्रहरी परिचालन गरेको अर्यालले बताए ।


सातामा धेरै पढिएको