कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५
578

 छायानाथ रारा नगरपालिकाले ३६ वटा ऐन नियम निर्माण गरी सार्वजनिक गरेको छ ।
स्थानीय निकाय सञ्चालनार्थ आवश्यक पर्ने विभिन्न ऐन कानुन निर्माण गरी स्थानीय राजपत्रमा प्रकाशन गरेर मंगलबार एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो । नगरपालिकाको आर्थिक ऐन २०७५, नगरपालिकाको शिक्षा ऐन २०७५ लगायत विभिन्न १४ वटा ऐन सार्वजनिक गरेको हो । त्यस्तै नगरपालिकाले नगरपालिका आर्थिक कार्यविधि २०७५, नगरपालिका विपद्जोखिम व्यवस्थापन कार्यविधि २०७५, नगर प्रहरी व्यवस्थापन कार्यविधि २०७५, मदिरा निषेधित क्षेत्र व्यवस्थापन कार्यविधि २०७५ लगायतका १३ वटा कार्यविधि पनि सार्वजनिक गरेको छ ।
न्गरपालिकाले बजार अनुगमन निर्देशिका २०७५, पुनर्निर्माण, स्वास्थ्य उपचार तथा आर्थिक सहायता मापदण्ड २०७५, जनप्रतिनिधिको कार्य सम्पादन तथा आचारसंहिता २०७५ समेत सार्वजनिक गरेको हो । स्थानीय तह सञ्चालनका लागि आवश्यक पर्ने कानुन निर्माण गरी स्थानीय राजपत्रमा प्रकाशित भई सार्वजनिक गरिएकै मितिबाट सबै ऐन कानुन लागू हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले स्थानीय सञ्चार माध्यम सञ्चालन र फोहोर व्यवस्थापन सम्बन्धी कानुनसमेत निर्माण गरेको जनाएको छ । सार्वजनिक गरिएका निर्देशिका, ऐन कानुन नेपाल सरकार संघीय सरकार र प्रादेशिक सरकारले बनाएका कानुनसँग नबाझिने गरी ल्याइएको नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले बताए ।