कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५
837

काठमाडौं- यस वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवस विविध कार्यक्रमका साथ ललितपुर महानगरपालिकामा आयोजना गरिने भएको छ । साथै यस वर्षको नारा ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ तय गरिएको २१औं भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिले जनाएको छ ।
आउँदो माघ २ गते आयोजना गरिने भूकम्प सुरक्षा दिवसको राष्ट्रिय कार्यक्रमबारे जानकारी दिन बिहीबार सहरी विकास तथा भवन निर्माण विभागमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । माघ २ गतेको मूल समारोह कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा दिउँसो २ बजे जावलाखेलको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको सभाहलमा हुने सहरी विकास तथा भवन निर्माण विभागका उपप्रमुख पदम मैनालीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै सहरी विकास तथा भवन निर्माण विभाग उपप्रमुख मैनालीले देशमा संघीयता कार्यान्वयन भइसको अवस्थामा देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारी सम्बन्धी देशव्यापी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले तीनै तहका सरकारमार्फत केन्द्र, जिल्ला र सबै स्थानीय तहमा सम्बन्धित विपद् व्यवस्थापन समितिको अग्ररसरतामा मनाउन लागेको बताए ।