सागर परियार
बुधवार, पुष २५, २०७५
636

अनुगमन औपचारिक मात्रै हुने र कारबाही नहुने प्रवृत्तिका कारण व्यापारीले खुलेआम म्याद सकिएका सामान बिक्रीवितरण गर्ने गरेको छन् ।

जुम्ला-जुम्ला सदरमुकामका पसलैपिच्छे म्याद सकिएका सामग्रीको बिक्री वितरण हुने गरेको पाइएको छ । उपभोक्ता स्वास्थ्यमा प्रत्यक्ष हानी हुने गरी म्याद सकिएका सामान बिक्री भइरहँदा पनि प्रशासन भने मौन देखिएको छ । उपभोक्ताको सोझोपनको फाइदा व्यापारीले उठाएकोप्रति नागरिक समाज जुम्लाले आपत्ति जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघको कार्यालय आसपासमै मूल्यसूची नराखी सामान बिक्री भइरहँदा पनि सरोकारवाला निकाय मौन भएका हुन् । महिनाको एकपटक अनिवार्य बजार अनुगमन गर्ने निर्णय भए पनि कार्यान्वयन नहुँदा जुम्लामा व्यापारीको मनपरी बढेको हो ।

नागरिक समाज र सञ्चारकर्मीको आग्रहमा पछिल्लो समयमा गरिएको बजार अनुगमनका क्रममा उपभोक्ता ठगिएको खुलासा भएको छ । जुम्लाको अम्मर सन्देश होटलमा गरिएको अनुगमनमा म्याद सकिएका सामग्री बिक्री भएको भेटिएको छ । यो होटलमा दुई महिनाअघि अनुगमन गर्दा पनि यस्तै सामग्री बरामद गरिएको थियो । प्रशासनले कारबाहीको चेतावनी दिएको भए पनि पछिल्लो पटकसमेत कुनै कारबाही गरेको छैन । यो होटलमा दैनिक सयौंले खाने गर्दछन् ।
प्रशासनले पुस २२ र २३ गते गरेको अनुगमनमा ३२ वटा खाद्य किराना, फुटकर तथा डिलरहरूमा पनि म्याद सकिएको सामान भेटिएको छ । हजारौं, उपभोक्ता ठगिएको थाहा पाउँदा पनि प्रभावकारी बजार अनुगमन नगर्नु प्रशासनको कमजोरी पक्ष भएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए । उनले अनुगमन औपचारिक मात्रै हुने र कारबाही नहुने प्रवृत्तिका कारण व्यापारीहरूले खुलेआम म्याद सकिएका सामान बिक्रीवितरण गर्ने गरेको बताए । “अब नागरिक समाजले छुट्टै संयन्त्र तयार गरेर उपभोक्ता हित संरक्षणको आवाज उठाउने छ,” नले भने ।
खाद्य गुण नियन्त्रण कार्यालय जुम्लाका प्रमुख अमित भुषणले ३२ पसलबाट झन्डै १२ हजार ५ सय रूपैयाँभन्दा बढीको म्याद समाप्त भएको सामान बरामद गरिएको जानकारी दिए । जिल्लाका अधिकांश होटलले म्याद नाघेका सामग्री प्रयोग गर्ने गरेको पाइएको छ ।
यस्तै जुम्लाका अधिकांश पसलमा मूल्यसूची नराख्ने गरेको पाइएको छ । उद्योग वाणिज्य संघले मूल्यसूची टाँस्न व्यापारीहरूलाई कडाई नगरकै कारण मनपरी मूल्यमा सामान बिक्री हुने गरेको नागरिक समुदायको गुनासो छ ।
उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष रज्जव अली मनिहारले उपभोग्य सामग्रीको मूल्य घटबढ भइरहने भएकाले मूल्यसूची राख्न समस्या भएको बताए । उनले अब तत्काल मूल्यसूचीलाई अनिवार्य गर्ने र अटेरी गर्नेलाई कारबाही गर्ने चेतावनी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले बजार अनुगमनलाई प्रभावकारी रूपमा अघि बढाइने बताए । उनले उद्योग बाणिज्य, प्रशासन, सरोकारवाला सबै मिलेर उपभोक्ता अधिकारबारे जानकारी दिइने र बजार अनुगमनमा कडाइ गरिने प्रतिबद्धता व्यक्त गरे ।