कारोबार संवाददाता
बुधवार, पुष २५, २०७५
878

अर्थले राष्ट्र बैंकले निकालेको तथ्यांक नै प्रधानमन्त्रीले प्रस्तुत गरेको र तथ्यांक सही भएको र प्रस्तुतीकरणमा केही समस्या भएको जिकिर गरेको छ ।

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आइतबार प्रस्तुत गरेको तथ्यांकको चौतर्फी आलोचना भएपछि अर्थ मन्त्रालयले त्यसको बचाउ गरेको छ । अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको तथ्यांक सही भएको भन्दै पाँच महिनाको तथ्यांकसमेत सार्वजनिक गरेको छ ।
मन्त्रालयले विज्ञप्तिमार्फत् नै राष्ट्र बैंकले निकालेको तथ्यांक प्रधानमन्त्रीले संसद्मा प्रस्तुत गरेको प्रष्टीकरणसमेत दिएको छ । प्रधानमन्त्रीले गत आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा १० महिनामा सरकारले उल्लेख्य प्रगति गरेको र अर्थतन्त्रका सबै सूचक सकारात्मक अवस्थामा रहेको भन्दै गलत तथ्यांक प्रस्तुत गरेका थिए । अर्थले राष्ट्र बैंकले निकालेको तथ्यांक नै प्रधानमन्त्रीले प्रस्तुत गरेको र तथ्यांक सही भएको र प्रस्तुतीकरणमा केही समस्या भएको जिकिर गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा वार्षिक विन्दुगत आधार मूल्य ४ दशमलव २ प्रतिशत रहेकामा पहिलो पाँच महिनामा मूल्य वृद्धिदर ३.७ प्रतिशतमा झरेको जनाएको छ ।

त्यस्तै महालेखा नियन्त्रण कार्यालयको २०७५ मंसिरसम्मको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा कूल खर्च ७ प्रतिशतले वृद्धि भएकामा चालू खर्च १३ प्रतिशतले घटेको र पूँजीगत खर्च २५ दशमलव ३ प्रतिशतले वृद्धि भएको बताइएको छ । कूल खर्चको वृद्धिदर कम हुनामा चालू खर्चमा गरिएको मितव्ययिता र अघिल्लो वर्षको यसै अवधिमा भएको निर्वाचन खर्च प्रमुख कारण भएको मन्त्रालयको ठहर छ ।
प्रधानमन्त्री ओलीले पनि आफूले प्रतिनिधिसभामा गरेको सम्बोधनमा उल्लेख भएका तथ्यांकहरू सबै सही भएको दाबी गरेका थिए । उनले सोमबार नेपाल चेम्वर अफ कमर्सको ६८औं वार्षिक साधारणसभामा आफूले संसद्मा प्रस्तुत तथ्यांक न्यूरोडमा पिँजडामा राखेको सुगाले खाम निकालेर दिएको जसरी बोलेको नभई तथ्यमा आधारित भएर बोलेको स्पष्ट पारेका छन् । यद्यपी प्रधानमन्त्री ओलीले आइतबार संसद्मा गलत तथ्यांहरू उल्लेख गर्दै अर्थतन्त्रमा सुधार हुन थालेको बताएका थिए । उनले पूँजीगत खर्च ३२ प्रतिशतसम्म बढेको बताए पनि वास्तविक तथ्यांकमा साढे १५ प्रतिशत मात्र छ । उनले उच्चदरले बढेको ब्यापार घाटालाई पनि सकारात्मक भएको, मूल्यवृद्धिदेखि प्रत्यक्ष वैदेशिक लगानीसम्मका सबै तथ्यांक तोडमोड गरेर प्रस्तुत गरेका थिए ।