कारोबार संवाददाता
बुधवार, पुष २५, २०७५
623

 प्रदेश–५ की कृषि, भूमि व्यवस्था तथा सहकारी विकासमन्त्री आरती पौडेलले कृषिलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएकी छन् । मिडिया एक्सन नेपालले हेफर ईन्टरनेसनलको सहयोगमा सञ्चालन गरेको तीनदिने कृषि र आर्थिक पत्रकारितासम्वन्धी कार्यशालाको समापन गर्दै मन्त्री पौडेलले कृषि क्षेत्रलाई पहिलो प्राथमकतामा राखेर पर्यटन र उद्योगलाई पनि सँगसँगै अघि बढाइएको बताएकी हुन् । “पहिला वास्तविक किसानसामु सरकारी अनुदान नपुग्ने समस्या थियो,” उनले भनिन्, “वास्तविक किसानलाई पहिचान गर्न किसानको बारीबारी र गोठगोठसम्म पुग्ने अभियान थालेका छौं ।”
मन्त्री पौडेलले अझै पनि मुलुकको ६७ प्रतिशत जनता कृषिमा आश्रित रहेको भन्दै भौतिक पूर्वाधारभन्दा पनि कृषि क्षेत्रको विकासमा जोडदिनुपर्ने अवस्था रहेको बताइन् । “कृषिमा निर्भर हुनेको संख्या धेरै छ,” उनले भनिन्, “तर देशको अधिकांस बजेट भौतिक पूर्वाधार निर्माणमा खर्च भइरहेको छ ।” उनले प्रदेश–५ मा कृषिको ठूलो सम्भावना बोकेका जिल्ला भएकाले यहाँका वास्तविक कृषकलाई समेट्न तालिमका लागि निवेदन मागेर ठूलो संख्यामा प्राप्त निवेदनमध्ये घरघरमा पुगेर कृषक पहिचान गरी छनोट गरिने जानकारी दिइन् । पहिचान भएका कृषकलाई व्यावसायिक योजना बनाएर मागको आधारमा तालिम दिने व्यवस्था गर्ने उनको भनाइ थियो ।

मन्त्री पौडेलले किसानलाई विभिन्न कार्यक्रमका लागि अनुदान दिने कार्यक्रम रहेको भन्दै आवश्यकत्ताभन्दा धेरै प्रस्ताव आएकोमा अव प्रस्तावना राम्रो भएकालाई नभई वास्तविक किसानलाई राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । प्रदेश सरकारले वास्तविक कृषकलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याएको भन्दै उनले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा गाउँलाई स्मार्ट कृषि गाउँ बनाउने अवधारणा अनुसार काम थालेको जानकारी दिइन ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमसेर राणाले कुनैबेला बाँकेबाट अन्यत्र धेरै बस्तु निर्यात हुनेगरे पनि हाल धान, चामललगायत खाद्यान्नसमेत भिœयाउनु परेको बताए । उनले कृषि व्यवसाय धरापमा परेकाले परनिर्भरता बढेको बताए ।