मीनकुमार नवोदित
बुधवार, पुष २५, २०७५
594

विराटनगर-विराटनगर महानगरपालिकामा जनप्रतिनिधि आएसँगै सुरु गरिएको ‘छोरी बचाऊ, छोरी पढाऊ अभियान’ प्रभावकारी बन्दै गएको छ ।
अभियानअन्तर्गत महानगरले २ छोरी जन्माउने महिलालाई प्रोत्साहन स्वरूप जनही २५ हजार रूपैयाँ प्रदान गरेको छ । भ्रूण हत्या रोक्ने कार्यक्रमअन्तर्गत महानगरपालिकाले पहिलोपटक यो अभियान चलाएको हो । जनस्तरमा ‘छोरी बचाऊ अभियान’ कार्यक्रम अत्यन्तै लोकप्रिय बनेको छ । लगातार दुई छोरी जन्माउने महिलालाई प्रोत्साहन भत्ता वितरण गर्ने महानगरका मेयर भीम पराजुलीले बताए । अहिले पनि समाजमा छोरा र छोरीमा विभेद रहेको बताउँदै अभियानले एकरूपता ल्याउने उनको विश्वास छ । “एक्काइसौं शताब्दीमा आएर पनि लैंगिक विभेद कायमै छ,” उनले भने, “महानगरको अभियानले विभेद न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्नेछ ।”

महानगरले आर्थिक वर्ष ०७५/७६ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो । प्रोत्साहन रकम पाउनेमा विराटनगर–१ की नुमा तामाङ, विराटनगर–५ की रोहिणी कट्टेल, विराटनगर—५ की सुमित्रा राय आमा र विराटनगर–४ की तारादेवी पोखरेल छन् ।
सो रकम ग्लोबल आईएमी बैंकमा खाता खोलेर जम्मा गरिदिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत कुमार दाहालले बताए । १८ वर्ष उमेर पुगेपछि रकम झिक्न सक्ने गरी बच्चाका आमालाई संरक्षक बनाएर जम्मा गरेको दाहालले जानकारी गराए । उनका अनुसार पेटमा सन्तान आएपछि आमाले कम्तीमा चारपटक स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउनु पर्छ, अस्पतालमै सन्तान जन्माउनु पर्छ र एक महिनाभित्रै जन्मदर्ता गर्नुपर्छ । त्यस्तै आमाको उमेर पनि २० वर्ष पूरा भएको हुनुपर्छ । यी मापदण्ड पुगेकालाई प्रोत्साहन भत्ता वितरण गरिंदै आएको छ । यस्तै महानगरले पहिलो सन्तानका रूपमा छोरी जन्माउनेलाई पनि ३ हजार प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । यो भत्ता लिनेमा विराटनगर नगरक्षेत्रका २३ महिला छन् । जनप्रतिनिधिमा निर्वाचित भएसँगै छोरी बचाउ कार्यक्रम सञ्चालन गरेर जनस्तरमा प्रशंसनीय कार्य गर्दै आएकी उपमेयर इन्दिरा कार्कीले छोरी बचाउ अभियानसँगै छोरी पढाउ अभियान सुरू भइसकेको बताइन् । यो अभियानमा सञ्चालनमा उपमेयर कार्कीले सक्रियता देखाएकी छन् । हाल उपमेयर योजनाअन्तर्गत यो कार्यक्रम सञ्चालन भइरहेको छ । चालू आवमा यो कार्यक्रमका लागि १० लाख बजेट विनियोजन गरिएको छ । उपमेयर कार्कीले महानगरपालिकाले छोरीलाई दहेज होइन उच्च शिक्षा दिऊ भन्ने उद्देश्य लिएर कार्यक्रम प्रारम्भ गरेको बताइन् ।
पहिलो सन्तान छोरी भए दोस्रो नजन्माउने र लिंग पहिचान गरी भू्रण हत्या गर्ने क्रम रोक्न ‘छोरी बचाऊ, छोरी पढाऊ’ अभियानको शुभारम्भ गरेको कार्कीले बताइन् । “आमालाई सम्मान र छोरीलाई सहयोग कार्यक्रमअघि सारेका हौं,” उनले भनिन्, “दोस्रो छोरी जन्मिए उनकै नाममा महानगरले बैंक खाता खोलेर २५ हजार रुपैयाँ ‘फिक्स डिपोजिट’ मा राखिदिन सुरु गरेका छौं ।”