हिमेश विक
शुक्रवार, मंसिर २१, २०७५
745

कञ्चनपुर-कञ्चनपुरको दक्षिणी क्षेत्रको समृद्धिसँग जोडिएको कलुवापुर–बेलौरी सडक खण्डमा निर्माण कम्पनीहरूले लापरबाही गरेका छन् ।
निर्माण कम्पनीहरूले गुणस्तरको काम नगरेको भन्दै पुनः मर्मत गर्न भनिएको छ भने भारतको सिमानामा खुजरियासम्मको २५ किमि क्षेत्रमा काम गर्ने सबै निर्माण कम्पनीले लापरबाही गरेका छन् । ३ करोड ३५ लाखमा ३.४ किमि सडक डीएस महरा जेभीले निर्माण गरेकोमा त्यो पूर्ण रूपमा भत्किएको छ । २०७२ साल असारमा सम्झौता भएर २०७४ भदौमा निर्माण सकिएको सडकको सो क्षेत्रमा खाल्डाखुल्डी परेका छन् । सडक उपड–खापड भएकाले स्थानीयसमेत हैरान भएको स्थानीय नन्दा भण्डारीले बताए । उनले यातायातका सवारी साधन ओहोर–दोहोर गर्दा दुर्घटनाको जोखिम बढेको बताए ।

निर्माण पूरा भएको एक वर्षमा सडक उपड–खापड भएपछि निर्माण कम्पनीलाई मर्मत गर्न सडक डिभिजन कार्यालयले २ महिना अगाडि नै निर्देशन दिइसकेको छ । तर हाल सम्म पनि मर्मत सम्भार भने हुन सकेको छैन । ३ करोड ३५ लाखमा निर्माण गर्ने सम्झौता भएकोमा ३ करोड २० लाखमात्र खर्च भएको थियो । कलुवापुरदेखि खजुरियासम्म २५ किमि सडकले कञ्चनपुर दक्षिण क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरेको थियो । सो–सडकको सडक डिभिजन कार्यालय कञ्चनपुरले दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरेको थियो । अहिले निर्माण कम्पनी भागेका छन् ।
सन्तोष थेगिम जेभीले सडक डिभिजन कार्यालय कञ्चनपुरसम्म १९ करोड ११ लाखमा २०७३ भदौ १७ मा सम्झौता गरेको थियो । २०७५ जेठ १६ मा निर्माण पूरा गर्ने सम्झौता भएकोमा निर्माण कम्पनी सम्पर्कमा छैन । तर निर्माण कम्पनीले सडक निर्माणको काम सुरुसमेत नगरेपछि बेलौरी नगरपालिकाले ग्राभेल दुई किलोमिटर क्षेत्रमा ४ लाखको ग्राभेल गरेको हो । नगरपालिकाले केही स्थानमा मात्र ग्राभेल गरेपनि नगरवासीको समस्या समाधान भएको छैन । निर्माण कम्पनीको लापरबाहीका कारण स्थानीय जनताले भने हिउँदको धुलो खानु परेको छ भने बससमेत सञ्चालन रहेका सो–सडक खण्डमा दुर्घटना जोखिमसमेत उच्च छ । स्थानीय सोम सुनारले सानातिना दुर्घटना सो–सडकमा दैनिक हुने गरेको बताए । कालोपत्रे भएको सडकसमेत एक वर्ष पूरा नहँदै खाल्डै–खाल्डा भएको उनले बताए । सो–सडक निर्माणको काम कसले गरेको भन्ने विषयमा जानकारी नरहेको बताउँदै उनले पीच भएको सडक पूरै खाल्डा–खुल्डी छ । पीच हुन बाँकी सडकसमेत पीच हुने सुन्नमा आएको थियो । यता काम गर्न कोही आएका छैनन् ।
कलुवापुरदेखि दक्षिण भारतको सिमानमा खजुरियासम्मको सडकको काममा निर्माण कम्पनीले काम गर्न हेलचत्र्mयाइँ गरेपछि कारबाही तयारीसमेत भएको छ । सडक निर्माणको सम्झौता गर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने सडक डिभिजन कार्यालयले बताएको छ । डिभिजन कार्यालयका सूचना अधिकारी खगेन्द्र शाहीले निर्माण कम्पनीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको बताए । निर्माणको सम्झौताको मिति सकिए पनि सडक निर्माणमा पुन निर्माण कम्पनीसँग समन्वय भइरहेको उनले बताए । कञ्चनपुरको बेलौरी नगरापलिकाका मेयर पतिराम चौधरीले सडकमा आवत–जावतमा समस्या भएपछि ४ लाख खर्च गरेर ग्राभेल गरेको बताए ।
निर्माण कम्पनी सम्पर्कमा छैनन् भन्ने छ । कारबाहीको तयारी हुँदैछ, उनले भने । सन्तोष थेगिम जेभीले निर्माण सम्झौता गरेको सो–सडक खण्डमा ४ करोड ४४ लाख खर्च भएको छ । १९ करोड ११ लाख लागत अनुमान गरिएकोमा अझै १४ करोड ६६ लाख लागत आवश्यक छ । कञ्चनपुर–बेलौरी सडक निर्माणको सम्झौता गरेका निर्माण व्यवसायी सम्पर्कविहीन छन् । कलुवारपुरको कलुवापुर–बेलौरी हुँदै दक्षिण भारतको सिमाना खजुरियासम्म जोड्ने सडक कालोपत्रे गर्ने बित्तिकै भत्किएर खाल्डाखुल्डीमय भएको छ । निर्माण सकिएको एक वर्ष नहुँदै सडक भत्किएपछि स्थानीय बासिन्दालाई आवात–जावत र व्यापार–व्यवसायमा समेत समस्या भएको छ ।