लक्ष्मण ढुंगाना
शुक्रवार, मंसिर २१, २०७५
982

नेपालगन्ज-सामान्य घरखर्चका लागि आफन्त, छिमेकी र समूहबाट ऋण लिने गरेकी बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियाकी रेश्मी मौर्यालाई अहिले त्यस्तो समस्या छैन । बरु आवश्यक परे उल्टै सहयोग गर्न सक्ने अवस्थामा उनी पुगेकी छन् । घरनजिकै व्यावसायिकरूपमा तरकारी खेती गरेपछि उनले घरखर्च चलाएर बचेको रकम गाउँकै समूहमा बचत गर्न थालेकी छन । गाउँका धेरै जनाले तरकारी खेती गरेको देखेर लहैलहैमै खेती गरेकी उनले यो वर्ष भाजीको साग बिक्रीबाट ६५ हजार रूपैयाँ आम्दानी गरेको बताइन् । “पहिले ज्ञान थिएन, कामधन्दा केही नहुँदा पैसाको निकै समस्या हुन्थ्यो,” उनले भनिन, “हाल सिजनअनुसार बजारको माग हेरेर बढी आम्दानी हुने तरकारी लगाउँछौं ।”
तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनका श्रीमान, ससुरा र घरपरिवार नै होमिएर तरकारी बारीमा लागेका छन् । पहिलेपहिले कामको खोजीमा भारतलगायत विभिन्न ठाउँमा भौंतारिने उनका श्रीमान राजु मौर्यले मेहेनत र परिश्रम गरे कामको खोजीमा कतै जानु नपर्ने बताए । “तरकारी खेतीले छोरा, छोरी पढाउन र घर खर्च चलाउन सहज भएको छ,” उनले भने, “हाम्रो त जीविकोपार्जनको आधार नै यही तरकारी हो ।”

उनीजस्तै हिरमिनियाका श्रवणकुमार मौर्यले दशक अघिदेखि आलु, भाजी, गोभीलगायत तरकारी बिक्री गरेर दैनिक गुजारा चलाइरहेको बताए । व्यावसायिक तरकारी खेती आफ्नो आम्दानीको स्रोत भएको उनी बताउँछन ।
सदरमुकाम नेपालगन्जदेखि करिव १० किलोमिटर पूर्वदक्षिणमा पर्ने हिरमिनिया तरकारीको पकेट क्षेत्रका रूपमा चिनिन्छ । यहाँका अधिकांश किसान तरकारी खेतीमै लागेका छन् । विदेशको मोह त्यागेर यस गाउँका सवैजसो महिला–पुरुष व्यावसायिक तरकारी खेतीमा होमिएपछि सिंगो गाउँ आत्मनिर्भर मात्र बनेको छैन छुट्टै पहिचान पनि बनेको छ । यहीँ उत्पादन भएको तरकारीले भारतीय तरकारीको आयातलाई विस्थापित गरेको छ ।
हिजोआज यहाँ काउली र सागको सिजन छ । अधिकांश किसान साइकलमा तरकारी लोड गरेर आफैं नेपालगन्जको तरकारीबजार रानीतलाउ पुग्ने गरेका छन । यो सिजनमा एउटै गाउँबाट दैनिक २० देखि २५ क्विन्टल साग उत्पादन हुने गरेको स्थानीय बताउँछन । मुला, धनियाँलगायतका अन्य तरकारीको उत्पादन जोड्ने हो भने दैनिक करिव ३५ क्विन्टल तरकारी हिरिमिनिया गाउँमा मात्र उत्पादन हुने गरेको स्थानीय राकेश मौर्यले बताए । “हिरमिनियाको तरकारीले नै नेपालगन्जको भान्छा धानेको छ,” उनले भने ।
तरकारी भण्डारण र वितरणमा सहज होस् भनेर यहाँका किसानले १३ वर्षअघि माहा तरकारी उत्पादन सहकारी संस्था नै गठन गरेका छन् । यही सहकारीले किसानको उत्पादन गरिद गरेर बिक्री गर्छ भने मल, वीउ सहजै उपलब्ध गराउने गरेको सहकारीका अध्यक्ष निरञ्जनसिंंह सोडीले बताए । राज्यले अलिकति ध्यान दिने हो भने भारतबाट आउने तरकारी पुरै विस्थापित हुने उनको भनाइ छ ।
सहकारीको तथ्यांक हेर्ने हो भने हिरमिनियामा २५ देखि ३० हेक्टर जमिनमा तरकारी खेती हुन्छ । आलु खेतीबाट मात्रै किसानले ३ करोड रूपैयाँभन्दा बढी आम्दानी गर्छन् । अन्य तरकारी करिव ५ देखि ७ करोड रूपैयाँको निर्यात हुने गरेको छ । त्यसैगरी बसन्ते मकैबाट २ करोड रूपैयाँभन्दा बढी हिरमिनियाका किसानले भिœयाउने गर्छन् ।
व्यावसायिक किसानलाई विभिन्न किसिमका सहयोग गर्न भन्दै जिल्लामा कृषि ज्ञान केन्द्रको समेत स्थापना भएको छ । व्यावसायिक र व्यवसाय उन्मुख किसानलाई सहयोग पुग्ने योजनासहित काम गर्ने तयारीमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताए । “अझै हाम्रो नीति तथा कार्यक्रम आएको छैन,” उनले भने, “कार्यक्रमसहितको अख्तियारी आएपछि त्यही अनुसार कृषक माझ हामी जान्छौं ।”