कारोबार संवाददाता
शुक्रवार, मंसिर २१, २०७५
790

काठमाडौं-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले राजीनामा दिएका छन् । उनले विद्युत् नियमन आयोगको अध्यक्ष हुन राजीनामा दिएको जनाइएको छ । नियमन आयोगको अध्यक्षका लागि आवेदन गर्ने समय सकिनै लागेको बेला सचिव उपाध्यायले राजीनामा दिएका हुन् । उनी आउँदो फागुनबाट सेवानिवृत्त हुँदै थिए । आयोग अध्यक्षका लागि निवेदन दिने शुक्रबार अन्तिम दिन हो । मन्त्रालयले कात्तिक ३० मा २१ दिनको समय दिएर आवेदनका लागि आह्वान गरेको थियो । नियमन आयोगको सिफारिस समितिको संयोजक ऊर्जासचिव उपाध्याय हुनुपर्ने भए पनि मन्त्रालयले अर्का सचिव डा. सञ्जय शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो ।
२०७४ साउनमा संसद्बाट पारित भएर २०७४ मंसिरदेखि स्वतः सक्रिय भएको आयोग लामो समयदेखि विनियमावली अभावका कारण गतिहीन बनेको थियो । आयोगका पदाधिकारी चयनमा ढिलाइ हुनुमा सचिव उपाध्याय नै कारण रहेको आरोप लागिरहेका बेला उनको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपयले भने लामो समयदेखि ऊर्जा क्षेत्रमा सक्रिय र अनुभवी भएकाले उपाध्याय आयोयको अध्यक्ष हुँदा सहज हुने बताउँदै आएका छन् । यद्यपि, सचिव उपाध्याय आफैले विनियमावली बनाएर यसका प्रावधानहरू राख्नु तथा आफैं अध्यक्षका लागि ऊर्जा सचिवबाट राजीनामा दिएर अघि बढ्नुले स्वार्थ बाझिएको भन्दै आलोचना गरेका छन् ।
उपाध्यायको राजीनामा मन्त्रिपरिषदबाट पनि स्वीकृत भएको बताइएको छ । उपाध्यायसँगै अर्का पूर्व ऊर्जासचिव सुमन शर्मा, विद्युत् विकास विभागका पुर्व महानिर्देशक डीपी सिंह, विद्युत् महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष जगतकुमार भुसाललगायत आयोगको अध्यक्षका लागि दाबेदारको रूपमा अघि सरेका छन् ।