महादेव अवस्थी
बिहिवार, मंसिर २०, २०७५
815

कन्चनपुर-परम्परागत रूपमा गाईपालन गर्दै आएका स्थानीयले आफ्नै पहलमा झन्डै २ सय बढी छाडा चौपाया व्यवस्थापन गरेर उदाहरणीय काम गरेका छन् । दूध दिन छाडेपछि आफूले पालेका चौपायालाई रोडमा छाडिदिने प्रवृत्ति व्याप्त छ । कतै सडक दुर्घटना गराउने त कतै बालीनाली खाएर किसानलाई हैरानी पार्ने छाडा पशुचौपायाको उचित व्यवस्थापन हुन सकेको छैन ।
तर लालझाडी गाउँपालिकामा गाईपालनलाई परम्परागत कार्य मान्दै आएका स्थानीय राना थारु समुदायले भने चौपायाले बालीनाली नोक्सान गरेपछि व्यवस्थापनका लागि त्यस्ता चौपायालाई पाल्न थालेको छ । उनीहरूले चौपायालाई दिनभरि जंगलमा छोडिदिन्छन् र बेलुका गोठमा ल्याउँछन् ।

यसबाट चौपायाको व्यवस्थापनमात्रै होइन तिनीहरूको गोबरबाट बनेको मल बिक्री गरी आम्दानीसमेत गरिरहेको लालझाडी गाउँपालिका–४ का वडाध्यक्ष बहादुर रानाले बताए । उनले छाडा चौपायाको समस्या समाधानका लागि गाई पालन गर्ने रानाहरूलाई विपद् व्यवस्थापन समितिबाट सहयोग जुटाएको बताए । उनले भने, “गाईको गोबरबाट आम्दानी हुन्छ, त्यसैले पनि स्थानीय गाईपालनमा आर्कर्षित छन्, प्रतिट्रायल ५ देखि ७ हजारसम्म बिक्री हुन्छ ।” चौपाया व्यस्थापनका लागि जिल्लाका अन्य स्थानीय तहले लाखौं बजेट विनियोजन गरे पनि लालझाडी गाउँपालिकाले भने बजेट खर्च नगरे पनि गाईपालन गर्नेलाई वडा र गाउँपालिकाबाट सहयोग गर्ने वडाध्यक्ष रानाले बताए । उनका अनुसार केही मल आफ्नो खेतीपातीमा लगाए पनि मल बिक्रीबाटै वार्षिक २ लाख बराबरको आम्दानी हुने गरेको छ । उनले गाउँपालिकाले केही सहयोग  नगरेको जानकारी दिए ।
लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले राना थारु समुदायमा पहिलेदेखि नै गाई पाल्ने चलन भएकाले स्थानीयलाई सम्झाइबुझाई गरी छाडा चौपाया व्यवस्थापन गरेको बताए । उनले भने, “गाउँपालिकाले खर्च गरेको छैन, स्थानीय सरकारले मात्र व्यवस्थापन हुँदैन, गाई छोड्नेलाई कारबाही गरिन्छ, गाईपालन गर्नेलाई प्रोत्साहन स्वरुप सहयोग गरिन्छ ।” जथाभावी छाडिएका पशुका कारण विभिन्न समस्या देखिएपछि कञ्चनपुरको लालझाडीका स्थानीय चौपाया व्यस्थापनमा सक्रिय भएका छन् ।

 


सातामा धेरै पढिएको