कारोबार संवाददाता
बिहिवार, मंसिर २०, २०७५
693

काठमाडौं-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका लागि भूकम्प प्रभावित क्षेत्रका सबै स्थानीयसँग समझदारी गर्ने भएको छ ।
बुधबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले पुनर्निर्माणको कामलाई छिटो र प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहसँग छुट्टा–छुट्टै समझदारी गर्ने निर्णय गरेको हो । निर्णयअनुसार, भूकम्प प्रभावित ३२ जिल्लाका २ सय ७२ स्थानीय तहसँगै समझदारी गरेर पुनर्निर्माणको काम स्थानीय तहलाई हस्तान्तरण गर्नेछ । प्राधिकरणले काभ्रे जिल्लाका सबै स्थानीय तहसँग छुटा–छुट्टै समझदारी भने गरिसकेको छ ।

बैठकले पुनर्निर्माणको समीक्षा गर्न र स्थानीय तहसँग समझदारी गर्नका लागि प्राधिकरणले मंसिर २१ गतेदेखि भूकम्प प्रभावित क्षेत्रमा समीक्षा कार्यक्रम र पुनर्निर्माण जिल्ला समन्वय समितिको बैठक आयोजना गर्ने निर्णय पनि गरेको छ ।
समझदारीका लागि तयार पारिएको समझदारी पत्रमा नगरपालिका गाउँपालिकामा इन्जिनियर, सबइन्जिनियर, असिस्टेन्ट सबइन्जिनियर र डकर्मी आवश्यकताअनुसार खटाउने, प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनर्निर्माणको काममा खटाउने, हाजिरी राख्नेलगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका र गाउँपालिकाको हुने उल्लेख छ ।
यस्तै नगरपालिका र गाउँपालिकाले प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनर्निर्माणको काममा मात्रै लगाउनु पर्ने, स्थानीयस्तरबाट कार्यान्वयन हुने आयोजनाहरू जस्तो गुम्बा, एकीकृत बस्ती, स्थानीय पूर्वाधारका आयोजनाका लागि तोकिएबमोजिमको बजेट प्राधिकरणले सर्तसहित नगरपालिका र गाउँपालिकामा निकाशा उपलब्ध गराउने व्यवस्था मिलाउन सक्ने, नगरपालिका र गाउँपालिकाले प्राधिकरणको सहयोग र समन्वयमा स्थानीय पुनर्निर्माण कार्य योजना तयार पारी कार्यान्वयन गर्ने, यसमा प्राधिकरणले आवश्यक सहयोग गर्ने उल्लेख हुनेछ ।
समझदारीपत्रमा पुनर्निर्माणको कार्यान्वयनको सिलसिलामा केही जटिलता एवं समस्या आइपरेमा प्राधिकरण तथा नगरपालिका र गाउँपालिकाले आपसी समझदारी कायम गरी कार्यान्वयनलाई अगाडि बढाउने लगायतका ११ बुँदा छन् ।