कारोबार संवाददाता
बिहिवार, मंसिर २०, २०७५
505

काठमाडौ-स्थानीय तहमा यतिबेला कामको चाप र बोझ दुवै छ । स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षभन्दा पनि वडाध्यक्षहरू बेफुर्सदिला बनेका छन् ।
सिन्धुपलाञ्चोक जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ वडाध्यक्षहरूमा कार्यव्यस्तता रहेको बताउँछन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल (नारमिन)का अध्यक्षसमेत रहेका श्रेष्ठ वडातहमा विनियोजन भएका बजेट कार्यान्वयनदेखि दैनिक अन्य कामले गर्दा वडाध्यक्षमा कामको चाप रहेको बताउँछन् । “हामीभन्दा पनि वडाध्यक्षहरू व्यस्त हुनुहुन्छ,” उनले भने ।

स्थानीय तहमा यतिबेला कामको चाप पनि देखिन्छन् । गत आव चुनावी वर्षभन्दा चालू आवमा विकासका कामले पनि गतिलिएको श्रेष्ठ बताउँछन् । स्थानीय तह आफैंले तय गरेका योजना, कार्यक्रममात्रै होइन, प्रदेश र संघका कार्यक्रमका कार्यक्षेत्र आखिर स्थानीय तह नै हो । यस्तै संघीय संसद्का सांसदका निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको पनि कार्यथलो स्थानीय तह नै हो ।
अझै पनि स्थानीय तहमा कानुन, ऐन, नीति, नियमावली बनाउने कार्यचाप छ । उता बनाइएका ऐन, नियम कार्यान्वयनको पनि चुनौती छँदैछ । यस्तै तिनले बनाएका कतिपय ऐन, कानुन प्रदेश र संघसँग पनि बाझिएकाले त्यसलाई सच्चाउनु पर्ने दायित्व पनि छ । काम गर्दा देखापरेका समस्या समाधान गर्ने दायित्व पनि रहेको श्रेष्ठ बताउँछन् । नारमिनका सूचना अधिकृत राजेन्द्र प्याकुरेल स्थानीय तहमा कामको चापले जनप्रतिनिधि व्यस्त रहेको बताउँछन् । “देशभरका जनप्रतिनिधि काममा व्यस्त छन्,” प्याकुरेल भन्छन्, “तर केही स्थानीय तहले अझै पनि तिनका सभा नगर्दा भने कतिपयले चर्को समस्या खेपेका पनि छन् ।” उनी यस्तो समस्याको शीघ्र हल गरी समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताउँछन् ।
स्थानीय तहहरू संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न युद्धस्तरमा काम गर्दै आएका छन् । स्थानीय तहका विषयवस्तुमा उठाउँदै आएका पत्रकार नरेन्द्र सापकोटा जनप्रतिनिधि काममा व्यस्त हुनुपर्ने बताउँछन् । उनी स्थानीय जनप्रतिनिधिको एक वर्ष कार्यकाल सकिएको अवस्था छ भने कार्यकालको अन्तिम वर्ष पनि चुनावी वर्ष हुने भएकाले अबका बीचको अवधिमा उनीहरू अधिकतम काममा लाग्नुपर्ने बताउँछन् ।
स्थानीय तहमा गाडी खरिद, बजेट विनियोजनमा शक्तिको दुरुपयोगसँगै भ्रष्टाचारलगायतका अनियमितता पनि देखिएकाले त्यस्ता गलत काम रोक्न जनप्रतिनिधिकै सकारात्मक सक्रियता चाहिने सरोकारवाला बताउँछन् । वरिष्ठ पत्रकार मोहन मैनाली सबल स्थानीय सरकारका लागि जनप्रतिनिधि काममा व्यस्त हुनुपर्ने बताउँछन् । नेपालीले हिजोदेखि नै सबल स्थानीय सरकारका लागि दुःख गर्दै आएको बताउँदै उनले संघीयतामा झनै तिनको भूमिका अब्बल हुनुपर्ने बताउँछन् । नारमिनले बुधबार राजधानीमा सञ्चारकर्मीसँग आयोजित अन्तरक्रियामा अर्का पत्रकार हरिबहादुर थापाले स्थानीय तहले गरेका कतिपय काममा सबै चनाखो हुनुपर्ने बताए । सो अवसरमा स्थानीय विकासका विषयवस्तुमा दख्खल राख्दै आएका पत्रकार रञ्जित तामाङले स्थानीय तहमा भए गरेका कामलाई अझै गहिरोसँग रिपोर्टिङ गर्नुपर्ने बताए ।
स्थानीय पूर्वाधार विकास नै समृद्धिको द्योतक भएकोले स्थानीय सरकारले कामको गति अघि बढाउनु पर्ने अवस्था छ । तर अझै पनि कर्मचारी अभावको समस्या, पेशागत सीप र दक्षताको अभाव तथा जनप्रतिनिधि बीचका तिक्तताले पनि अपेक्षित काम हुन नसकेको सरोकारवाला बताउँछन् । अध्यक्ष श्रेष्ठले कतिपय अवस्थामा नागरिकको दबाब नगर्नुपर्ने काममा पनि देखिने गरेकोले गर्नुपर्ने काम चाहिँ छुटिरहेको अवस्था विद्यमान रहेकोले सञ्चारकर्मीले कलम चलाइदिन पनि आग्रह गरे ।