सागर परियार
बिहिवार, मंसिर २०, २०७५
801

जुम्ला-स्याउ उत्पादन हुने अधिकांश हिमाली जिल्लाका किसान अहिले स्याउका नयाँ विरुवा लगाउने तयारीमा लागेका छन् । पुस र माघ महिनाभित्रै विरुवा लगाइसक्ने गरी किसानले मंसिरदेखिनै बगैंचा व्यवस्थापन गरिरहेका छन् । नयाँ विरुवाका लागि खाल्डा खन्ने, बगैंचामा मल, जल तथा घेरवारलगायतका काम भइरहेको छ ।
पछिल्लो समयमा नेपाली किसानहरू नयाँ स्याउको विरुवा लगाउँदा स्वदेशमा पाइने स्थानीय जातको भन्दा विदेशबाट आयात गरिने फुजी स्याउतर्फ आकर्षित भएका छन् । पहिले नेपालमै पाइने विभिन्न जातका स्याउका विरुवा लगाउँदै आएका किसान पनि अहिले विदेशबाट विरुवा माग गर्न थालेका हुन् ।
यस वर्ष स्याउ फल्ने हिमाली जिल्लामध्ये चार जिल्लामा मात्र करिब ६ लाख वटा फुजी स्याउका विरुवा विदेशबाट माग भएको छ । ईटाली र स्पेनलगायतका देशबाट नेपालमा आइपुग्ने फुजी जातको स्याउको विरुवा नेपालमा पाईने विरुवाभन्दा १० गुणा महंगो पर्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन ईकाइ खुमलटार ललितपुरको पत्रका आधारमा स्याउ सुपरजोन जुम्लाले दिएको जानकारी अनुसार जुम्ला, कालिकोट, मनाङ र मुस्ताङमा मात्र करिब ६ लाख फुजीका विरुवा माग भएको हो ।
जसमा जुम्लाका किसानले ३ लाख ११ हजार ४ सय २२ वटा फुजीका विरुवा माग गरेका छन् । त्यस्तै कालिकोटका किसानले १ लाख १६ हजार ५ सय, मनाङका किसानले एक लाख ३१ हजार ६ सय र मुस्ताङका किसानले १५ हजार ५ सय फुजीका बिरुवा माग गरेका छन् ।

विरुवामा ७० प्रतिशत अनुदान
सघन स्याउ रोप्न विरुवा आयात गरी किसानलाई वितरण गर्ने स्याउ सुपरजोन कार्यक्रमअन्तर्गत फुजी विरुवा ७० प्रतिशत अनुदानमा किसानले पाउने भएका छन् । बरिष्ठ कृषि अधिकृत टिकाराम शर्माले भने, “विरुवा आयात गरेको ढुवानी रकम किसानलाई निःशुल्क हुनेछ, अनुदानमा वितरण हुने प्रतिविरुवा किसानलाई ४ सय २५ रूपैयाँसम्म पर्नसक्छ ।” विश्व बजारमा राम्रो सम्भावना भएको र नेपालमा पनि फुजी स्याउको बढ्दो माग रहेकाले त्यसको उत्पादन वृद्धि गर्न अनुदानमा विरुवा वितरण गर्न लागिएको उनले बताए । नेपालमा अहिले अन्य स्याउको भन्दा फुजी स्याउ तेब्बर बढी मूल्यमा बिक्री भइरहेको छ । अनुदानमा आउने फुजी विरुवा किसानको मागअनुसार प्राप्त गर्न सम्भव नभएको स्याउ सुपरजोनले जनाएको छ । यसले गर्दा विरुवा वितरणमा भने निकै सकस हुने देखिन्छ ।

१४ हजार बगैचा
जुम्लामा मात्र १४ हजार स्याउ वगैंचा स्थापना भएको तथ्यांक छ । जिल्लाका कूल १८ हजार घरधुरीमध्ये करिब १४ हजार घरमा स्याउ वगैचा स्थापना भएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । अहिले जिल्लाको कूल ३ हजार ४ सय ५० हेक्टरमा स्याउ खेति भइरहेको छ । स्याउ खेती विस्तार हुने क्रम रोकिएको छैन ।
जुम्लामा विगत दुई वर्षमा स्याउबाट ३४ करोड रूपैयाँभन्दा बढी रकम भित्रिएको छ । स्थानीय तहहरूका अनुसार अबको चार वर्षभित्र स्याउ खेतीका लागि जमिन भएका जिल्लाका १८ हजार घरधुरीमै स्याउ बगैंचा स्थापना हुनेछन् । हरेक वर्ष कृषकले बगैंचा ब्यवस्थापन तथा स्याउ उत्पादनसम्बन्धी पर्याप्त ज्ञान, सिप तथा सामग्री पाइरहेका छन् ।
तर त्यसलाई ब्यवहारमा कार्यान्वयन नगर्दा समस्या भएको छ । हरेक वर्ष स्याउका विरुवा बढ्दै छन् । तर विरुवाको अनुपातमा भने स्याउ उत्पादन घट्दै गएको छ ।