अनुपमा खनाल
बुधवार, मंसिर १९, २०७५
914

गोरखा-बर्थिङ सेन्टरमा नै सुत्केरी हुनेलाई गण्डकी गाउँपालिकाले थप चार हजार दुई सय रुपैयाँ सुत्केरी पोषण खर्च दिन थालेको छ ।
चेपाङ र जनजाति समुदायको बाहुल्य रहेको सो क्षेत्रमा अझै पनि घरमा नै जोखीमपूर्ण रूपमा सुत्केरी हुने क्रम रहेकाले यसको नियन्त्रणका लागि बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पोषण खर्च दिन थालिएको गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले बताइन् । “चालू आवबाट नै हामीले सुत्केरी पोषण खर्च दिन थालेका हौं,” उनले भनिन्, “पैसाको लोभले पनि महिलाहरू सुत्केरी हुन स्वास्थ्य चौकी आउन थालेका छन् । अहिले घरमा नै सुत्केरी हुने क्रम घटेको छ ।” यो कार्यक्रमबाट लिएको पैसाले सुत्केरीलाई पौष्टिक आहार ब्यवस्थापनका लागि पनि मद्दत पुग्ने भएकाले आमा र बच्चा दुवैको स्वास्थ्य पनि राम्रो हुने उनको भनाइ छ । सुरुको चरणमा गाउँपालिकाले सुत्केरी पोषण खर्चका लागि ७ लाख रुपैयाँको कोष बनाएको छ । आवश्यकता अनुसार यो कोषमा रकम थपिने उपाध्यक्ष अधिकारीले बताइन् ।

गाउँपालिकाभित्र मकैसिंह प्राथमिक स्वास्थ्य केन्द्रसहित घ्याल्चोक स्वास्थ्य चौकी, भुम्लीचोक स्वास्थ्यचौकी, मकैसिङ स्वास्थ्य चौकी, फुजेल स्वास्थ्य चौकी र ताङलीचोक स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छन् । सुत्केरी पोषण खर्च पाउनका लागि यी ६ वटै स्वास्थ्य संस्थामध्ये एकबाट प्रसूति सेवा लिएको हुनुपर्ने मापदण्ड छ । यी स्वास्थ्यसंस्थाबाट अन्यत्र रिफर गरिएकालाई पनि पोषण खर्च दिइनेछ । तर रिफर भएर अन्यत्र जाँदा सरकारी अस्पतालमा नै गएको हुनुपर्ने ब्यवस्था रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक शंकर दुवाडीले जानकारी दिए । यस्तै, पोषण खर्च पाउनका लागि गर्भ रहेको चार, छ, आठ र नौ महिनामा अनिवार्य रूपमा स्वास्थ्यचौकीमा गर्भजाँच गरेको हुनुपर्नेछ ।
गाउँपालिकाले थप पोषणभत्ता दिन थालेसँगै बर्थिङ सेन्टरमा सुत्केरी हुने क्रम बढेको स्वास्थ्य शाखाको तथ्यांक छ । गत आर्थिक वर्ष पहिलो चौमासिकमा ५१ जना बर्थिङ सेन्टरमा सुत्केरी भएकोमा चालू आवमा ७२ जनाले प्रसूति सेवा लिएका छन् । पोषणभत्ताले सुरक्षित प्रसूतिका लागि प्रोत्साहन मिलेको स्वास्थ्य शाखा सहसंयोजक दवाडीले बताए । “गाउँपालिकाको भलायोडाँडा, बालकी, थुम्का, हिक्लुङ, छतिवन गैह्रालगायत गाउँका चेपाङ समुदाय बढी जसो घरमै सुत्केरी हुने गर्दथे,” उनले भने, “अहिले उनीहरू स्वास्थ्यचौकीमा आउन थालेका छन् । यो कार्यक्रमले सुत्केरीलाई पौष्टिक आहार खुवाउन मद्दत पुगेको छ । रिफर गर्नुपर्नेलाई पनि धेरथोर यो पैसाले सहयोग पुग्ने भयो ।” बर्थिङ सेन्टरमा सुुत्केरी हुने महिलाले केन्द्र सरकारको आमा सुरक्षा कार्यक्रमबाट यातायात खर्च दुई हजार र चार पटक नियमित गर्भ जाँच गराएवापत आठ सय गरी दुई हजार आठ सय रुपैयाँ पनि पाउँछन् । गाउँपालिकाले दिने थप चार हजार दुई सयसमेत गरी प्रत्येक सुत्केरीले सात हजार रुपैयाँ पाउनेछन् ।
यसैबीच, गण्डकी गाउँपालिकाकै वडा नं ८ ले भने आफ्नो क्षेत्रमा सुत्केरीको स्याहार गर्नेलाई पनि एक हजार रुपैयाँ प्रोत्साहन खर्च दिने भएको छ । सुत्केरी अवस्थामा महिलाको खानपान तथा स्याहार सुसारमा कमी नहोस् भन्नका लागि स्याहार गर्नेलाई एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय भएको वडाअध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिए ।