कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५
478

गोरखा-गोरखामा भूकम्पपीडित लाभग्राहीमा नाम समावेश हुनुपर्ने भन्दै गुनासो फाराम भरेकामध्ये झण्डै १२ हजार गुनासो फस्र्योट भएको छ ।
जिल्लाभरबाट १५ हजार ७ सय ५० गुनासो दर्ता भएकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म ११ हजार ९ सय २५ गुनासो सम्बोधन गरेको जिल्लास्थित अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले जनाएको छ । सो क्रममा ४ हजार २ सय ४७ जनालाई ३ लाख अनुदान पाउनयोग्य लाभग्राहीको सूचीमा राखिएको इकाई प्रमुख रामकुमार श्रेष्ठले बताए । “२ हजार ९ सय ३० गुनासोकर्ताले भने घर प्रवलीकरणका लागि एक लाख रुपैयाँ पाउने छन्,” उनले भने, “गुनासोकर्तामध्ये ३ हजार ३ सय ३ घरधनीलाई भने गैरलाभग्राही अर्थात् अनुदान पाउनु नपर्नेको सूचीमा राखिएको छ । गुनासो फाराम भरेकामध्ये अझै करिब ४ हजारजनाको गुनासो सम्बोधन हुन बाँकी छ ।” सबै गुनासो सम्बोधन गरिसक्दा जिल्लामा करिब १० हजार भूकम्पपीडित लाभग्राही थपिने इकाईले जनाएको छ । प्रारम्भिक घरधुरी सर्भेक्षणका क्रममा अनुदान पाउने सूचीमा नपरेपछि गुनासो फाराम भरेकामध्ये हालसम्म ४ हजार २ सय ४७ जनाको नाम ३ लाख अनुदान पाउने लाभग्राही सूचीमा परिसकेको छ । प्रवलीकरणमा परेकासमेत जोडिँदा लाभग्राहीको संख्या करिब १० हजार पुग्ने अनुमान गरिएको छ ।
पुनर्निर्माण प्राधिकरणले अन्त घर भए नभएको, भूकम्पले भत्किएको घर बस्न मिल्ने नमिल्नेलगायत सूचकका आधारमा गुनासो सम्बोधन गरिरहेको इकाई प्रमुख रामकुमार श्रेष्ठले बताए । “गुनासो दर्ता गरेर पनि लाभग्राही सूचीमा नपरेकालाई प्राधिकरणले फेरि एकपटक अवसर दिएको छ,” उनले भने, “लाभग्राही सूचीमा पर्नुपर्ने भए पनि नपरेका गोरखाका भूकम्पपीडितले पुनरावेदन प्रक्रियामा सहभागी हुन पाउँछन् । हामीले सबै स्थानीय तहमा पीडितहरूलाई पुनरावेदन प्रक्रियामा सहभागी गराउन पत्राचार गरेका छांै ।” हालसम्म ११ हजार गुनासो सम्बोधन गर्दा ३ हजार ३ सयजनाको नाम गैरलाभग्राही सूचीमा परेको छ । जिल्लास्थित अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले त्यस्ता पीडितलाई पुनरावेदन प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।