कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५
2069

काठमाडौं-सरकारले निजामती कर्मचारी समायोजनसम्बन्धी अध्यादेश स्वीकृत गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश हुने बताएको छ ।
संघीयता कार्यान्वयनको केन्द्र विन्दुमा रहेका निजामती कर्मचारीको समायोजन हुन नसक्दा प्रभाव परेको छ । गत वर्ष ल्याइएको कर्मचारी समायोजन ऐन कार्यान्वयन नै हुन सकेको थिएन । कर्मचारीको समस्या सुल्झाउन नसक्दा अध्यादेशमार्फत् कानुन ल्याउन लागिएको हो । सरकारलाई कर्मचारी समायोजन पेचिलो बनिरहेका बेला अध्यादेशमार्फत् आउन लागेको कानुनले निकास खोल्ने अपेक्षा गरिएको छ । अध्यादेशमा खटाएको तहमा ३५ दिनभित्र हाजिर नहुने कर्मचारीलाई बर्खास्त गर्नेसहितको व्यवस्था गएिको छ । विशेष परिस्थितिमा रहेकाबाहेक अन्य कर्मचारी अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएपछि ३५ दिनभित्र कार्यस्थलमा हाजिर भइसक्नुपर्ने छ । तर अवकाश हुन दुई वर्ष सेवा अवधि बाँकी भएका कर्मचारीलाई भने समायोजनमा नपर्ने व्यवस्था गरिएको बताइएको छ । समायोजनको आधारको रूपमा जेष्ठता, कार्यरत रहेको प्रदेश वा स्थानीय तह, स्थायी ठेगाना र नागरिकतामा उल्लेख भएको ठेगानालाई आधार बनाइएको छ । अध्यादेश ६ महिनाभित्र संसद्ले पारित नगरे स्वतः निष्कृय हुनेछ ।

अध्यादेशले ५ वर्षभन्दा कम सेवा अवधि गरेका राजपत्र अनंकित द्वितीय श्रेणीमा हाल कार्यरत रहेका कर्मचारी समायोजनमा जाँदा चौथो तहमा जानेछन् भने खाइपाई आएकोमा भन्दा २ ग्रेड थप हुनेछ । यसैगरी राजपत्र अनंकित द्वितीय श्रेणीमा ५ वर्ष वा ५ वर्षभन्दा बढी सेवा अवधि काम गरेकालाई समायोजन भई पाँचौ तहमा जाने अवसर पाउने भएका छन् ।
यसैगरी ५ वर्षभन्दा कम सेवा अवधि काम गरेका राजपत्र अनंकित प्रथम श्रेणीमा कार्यरत पाँचौं तहमा जानेछन् र खाइपाई आएकोमा २ ग्रेड थपको अवसर पाउँनेछन् । यस्तै ५ वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका र माथिल्लो पदमा बढुवाका लागि आवश्यक पर्ने शैक्षिक योग्यता हासिल गरेका राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीले समायोजन हुँदा छैंठौं तहमा जाने अवसर पाउने भएका छन् ।
५ वर्षभन्दा कम सेवा अवधि सेवा गरेका राजपत्रांकित तृतीय श्रेणीमा कार्यरतले समायोजनमा सातौं तहमा जाने अवसर पाएका छन् भने खाइपाई आएकोमा भन्दा २ ग्रेड थप हुने भएको छ । यस्तै ५ वर्ष वा सोभन्दा बढी सेवा अवधि काम गरेका राजपत्रांकित तृतीय श्रेणीका कर्मचारीले आठौं तहमा जाने अवसर पाएका छन् ।
यस्तै ५ वर्षभन्दा कम सेवा अवधि काम गरेका राजपत्रांकित द्वितीय श्रेणीमा कार्यरतले समायोजन हुँदा नवौं तहमा जाने अवसर पाएका छन् भने खाइपाई आएकोमा २ ग्रेड थप पाउँछन् भने ५ वर्ष वा सोभन्दा बढी सेवा अवधि पाएकाले दशौं तहमा जाने अवसर पाएका छन् ।
यस्तै राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीले समायोजनमा एघारौं तहमा जाने अवसर पाएका छन् भने खाइपाई आएकोमा २ ग्रेड थप हुनेछ । श्रेणीविहीन कर्मचारीलाई प्रदेश वा स्थानीय तहको सेवामा समायोजन गर्दा निजले खाइपाई आएको ग्रेडमा २ ग्रेड थप पाउने गरी समायोजन गरिनेछ ।
निजामती कर्मचारीको अभिलेख राख्न राष्ट्रिय किताबखाना बनाइने भएको छ । यसले विद्यमान निजामती किताबखाना खारेज भएको छ । सरकारी सेवाभित्र निजामती सेवा ऐन, २०४९, नेपाल स्वास्थ्य ऐन, २०५३ र व्यवस्थापिका–संसद् सचिवालयसम्बन्धी ऐन, २०६४ बमोजिम गठन भएका सेवा सम्झनु पर्छ । अध्यादेशमा स्थानीय तह भन्नाले नेपालको संविधान बमोजिमका गाउँपालिका र नगरपालिका सम्झनुपर्छ भनिएको छ ।
अध्यादेशले कर्मचारी समायोजन गर्ने प्रयोजनका लागि संघ, प्रदेश र स्थानीय तहमा सेवा प्रवाहका लागि आवश्यक पर्ने संगठन संरचना र कर्मचारी दरबन्दी नेपाल सरकारले कायम गरेबमोजिम हुने उल्लेख छ । यसबमोजिम संगठन संरचना र कर्मचारी (ओ एन्ड एम) दरबन्दी कायम गर्नका लागि सिफारिस गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव संयोजक रहेको एक संगठन तथा व्यवस्थापन सर्वेक्षणसमिति रहने उल्लेख छ । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव, नेपाल सरकारको अर्थ मन्त्रालयका सहसचिव, नेपाल सरकारको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव, नेपाल सरकारका सम्बन्धित मन्त्रालयका सहसचिव सदस्य रहने प्रावधान छ भने सामान्य प्रशासन मन्त्रालयका सहसचिव सदस्य सचिव रहने व्यवस्था छ ।

कर्मचारी समायोजनका आधारकर्मचारी समायोजनका आधार

  • कार्यरत पदको जेष्ठता
  • कर्मचारी हाल कार्यरत रहेको प्रदेश वा स्थानीय तह
  • हालको स्थायी बसोबासको ठेगाना
  • नागरिकताको प्रमाणपत्रमा उल्लिखित ठेगाना
  • उमेरको जेष्ठता

प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्दा श्रीमान्/श्रीमतीलाई एकै स्थानमा राखिनेछ ।
कर्मचारी समायोजनसम्बन्धी कार्यको अनुगमन गर्ने, अन्तर निकाय समन्वय गर्ने र आवश्यकताअनुसार निर्देशन दिने प्रयोजनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको संयोजकत्वमा एक निर्देशन तथा समन्वय समिति रहनेछ ।