घनश्याम पौडेल
मंगलबार, मंसिर १८, २०७५
657

अर्घाखाँची-स्थानीय तहको निर्वाचन भएको १ वर्ष ५ महिना पूरा भयो । जनताले निर्वाचनपछि विकासमा फड्को मार्ने आशा राखेका थिए । जनप्रतिनिधि पनि चुने । आव ०७४÷७५ सालमा स्थानीय तहले विनियोजन गरेको बजेट जनतामुखी नभई कार्यकर्तामुखी भएपछि जिल्लाका अधिकांश पालिका बासिन्दाले नेता जनमुखी नभई कार्यकर्तामुखी भएको आरोप लगाएका छन् ।
स्थानीय तहले भौतिक पूर्वाधारलाई मात्र प्राथमिकता दिएको पाणिनी गाउँपालिका–५ मैदानका स्थानीय बासिन्दाको गुनासो छ । गाउँपालिकाका जनप्रतिनिधिले आफूखुसी पाइप, प्लास्टिक टनेल वितरण गरेको मैदानका गिरिराज अधिकारीको आरोप छ ।

नेताहरूले कृषि क्रान्तिका भाषण गर्दै हिंडे पनि पानीको समस्या समाधान गर्न नसक्ने नेताले कुनै विकास गर्न नसक्ने मैदानका टामलाल घिमिरेले बताए । उनले सिँचाइलाई सरकारले प्राथमिकता नदिँदासम्म कृषिक्रान्तिका नारा लगाएर जनता समृद्ध नहुने बताए ।
युवा लक्षित कार्यक्रम ल्याउँन नसकेको युवा लक्ष्मण पाण्डे बताउँछन् । उनले युवालाई स्वदेशमै रोजगारीको सिर्जना हुन्छ भनेर युवालाई भ्रममा पार्ने काम भइरहेको उनको भनाइ छ । अनावश्यक ठाउँमा बजेट छुट्याउनभन्दा युवालक्षित कार्यक्रमलाई प्राथमिकता दिन पाणिनी गाउँपालिकालाई उनको सुझाव छ । धार्मिक, पर्यटकीयस्थलको संरक्षण गरी पर्यटन भित्र्याउन पहल गरे मात्रै जनता समृद्ध हुने लेकबहादुर टण्डन बताउँछन् । मैदानकै ८७ वर्षीय भूमेश्वर घिमिरेले बाटाघाटा बनाउँदा पानी, घर नबिग्रिने गरी विकास गर्नुपर्ने उनको भनाइ छ ।
पाणिनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतमले अनुदानमा वितरण गरेको सामग्री दुरुपयोग भएको स्वीकार गरिन् । उनले वितरण गरिएका प्लास्टिक टलेन घर छाउन, धान उठाउनलगायतका काममा दुरुपयोग भएको बताउँदै आगामी दिनमा अनुगमन गर्ने बताइन् । जनताले योजना माग गर्दा बाटोका मात्र योजना माग नगरी कृषि, पशुपालन, खानेपानीलगायतका योजना माग्नुपर्ने पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए ।
पाणिनी गाउँपालिकामा रहेको खानेपानीको समस्या समाधानका लागि पहल गर्ने बताउँदै ‘एक घर एक धारा’ निर्माण गर्ने गरी बजेट विनियोजन गरेको प्रदेश सासंद रामजी घिमिरेले बताए । उनले २० वर्ष स्थिर सरकार रहेमात्रै देशले विकासमा फड्को मार्ने बताए । कृषि, पशुपालन, शिक्षा, स्वास्थ्यलाई प्रदेश सरकारले ध्यान दिएको घिमिरेको आरोप छ ।
पाणिनी गाउँपालिका मैदानका स्थानीयसँग कुराकानी गर्दा उनीहरू स्थानीय सरकारको कामप्रति सन्तुष्ट छैनन् । उनीहरूले योजनाको पैसा भुक्तानी लिन जादाँ गाउँपालिकाले दुःख दिएको, इन्जिनियरले कमिसन माग्ने गरेको उपभोक्ता समितिको गुनासो छ । स्थानीय अधिकार गाउँमै आएर जनतालाई सहज होला भन्दा धेरै दुःख र झन्झट बेहोर्नुपरेको जिल्लावासीको भनाइ छ । पाणिनी गाउँपालिकाजस्तै अन्य पालिकाका बासिन्दा प्नि स्थानीय सरकारको कामप्रति असन्तुष्ट छन् ।