कारोबार संवाददाता
शुक्रवार, कार्तिक १६, २०७५
983

कञ्चनपुर-गर्भवती महिलाले सुत्केरी भएपछि नियमित रूपमा गराउनु पर्ने स्वास्थ्य जाँच नगराउँदा आमा र बच्चाको ज्यान जाने खतरा बढ्न थालेपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नियमित रूपमा स्वास्थ्य जाँच गराउने महिलालाई प्रोत्साहन स्वरुप ३ सय रुपैयाँ भत्ता दिने गरेको छ । गर्भवती महिलाले सुत्केरी भएपछि विभिन्न कारण देखाउँदै स्वास्थ्य संस्थामा जाँच नगराउने प्रवृत्ति बढेपछि नगरपालिकाको कार्यपालिका बैठकले सुत्केरी भएको एक साताभित्र गर्नुपर्ने स्वास्थ्य जाँच पूरा गर्ने महिलालाई प्रोत्साहन स्वरुप रकमको व्यवस्था गरेको थियो । नगरपालिकाले सुत्केरी भएपछि २४ घण्टा, ३ दिन र ७ दिनमा गराउनु पर्ने स्वास्थ्य जाँच नियमित रूपमा गर्ने महिलालाई प्रोत्साहन स्वरुप ३ सय रुपैयाँ दिने व्यवस्था गरेको छ । नियमित स्वास्थ्य जाँच गराएवापत प्रोत्साहन रकम पाइने भएपछि अहिले अधिकांश सुत्केरी महिलाले नियमित स्वास्थ्य जाँच गर्न थालेका छन् ।