कारोबार संवाददाता
शुक्रवार, कार्तिक १६, २०७५
604

ताप्लेजुङ-ताप्लेजुङको लेकाली क्षेत्रका किसानलाई अहिले अलैंची थन्क्याउने चटारो छ । कात्तिक महिनाभर अलैची टिप्न, छोड्याउन र सुकाउन यहाँका किसान व्यस्त हुने गेका छन् । यहाँका अधिकांश किसानले परम्परागत भट्टीमै अलैंची सुकाउने गरेका छन् ।
लेकबेसीका अधिकांश किसानले परम्परागत भट्टीमै अलैंची सुकाउने गरेको अलैंची कृषक सञ्जालका अध्यक्ष शिवकुमार गुरुङले बताए । गैरसरकारी संघसंस्थाले साविक जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरी वितरण गरेको सुधारिएको भट्टी प्रयोगविहीन झैं बनेको छ । सुधारिएको भट्टीमा सुकाइएको अलैंचीमा कम धुँवा, सुकेको अलैंची गुणस्तरीय हुने र समयको समेत बचत हुने भए पनि किसानको आकर्षण बढेको छैन । दाउराको खपतमा कमी र वातावरण प्रदूषणमा टेवा मिल्ने भनी पाइलट प्रोजेक्टका रुपमा किसान छनोट गरी अधिकांशलाई पायक पर्ने ठाउँमा सुधारिएको भट्टी वितरण गरिएको थियो । तर, गैरसरकारी संस्थाले भनेजस्तो गुणस्तरीय अलैंची सुक्नुको साटो भट्टीमै आगो लाग्ने र अनावश्यक मेहेनत गर्नुपर्ने भएकाले किसानले झन्झटिलो मानेका हुन् । अध्यक्ष गुरुङले भने, “सुधारिएको भट्टी राम्रो हो, तर घट्दो मूल्यसँगै सुधारिएको भट्टी निर्माण ठप्प छ ।” उनले निर्माण गरिएका सुधारिएका भट्टीसमेत जीर्ण बनेको बताए ।

कतिपय किसान भने परम्परागत भट्टी र सुधारिएको भट्टीमा सुकाइएको अलैंचीको भिन्नता नभएको तर्क गर्दछन् । फुङलिङ नगरपालिका–९ हाङदेवाका किसान सरोज मादेनले दुवै भट्टीमा सुकाइएको अलैंची समान भएको बताए । “परम्परागत भट्टीमा पनि दाउरा र आगोको व्यवस्थापन गर्नुपर्छ । बानमा हालिएको अलैंची टाइममा पल्टाउन पर्छ । सफा र छङछङ बज्ने गरी सुकाउनुपर्छ,” उनले भने । आफ्नो बगानमा बर्सेनि उत्पादन हुने २० मनभन्दा बढी अलैंची परम्परागत भट्टीमै सुकाउँदै आएको उनले बताए । अलैंचीको वेट बढाउन र सुकेको अलैंची दाना रातो बनाउन पानी मिसाउने र धेरै माड्ने गर्दा गुणस्तर खस्किने खतरा हुन्छ ।
फुङलिङ नगरपालिका–९ का किसान चन्द्र कालिकोटेले भने वर्षेनी सुधारिएको भट्टीमै अलैंची सुकाउँदै आएका छन् । “भट्टी नबिग्रिएसम्म सुकाउँछु तर बिग्रिएपछि लगानी गरी सुकाउन सकिने गरीको अलैंचीको भाउ नै छैन ।” अलैंची व्यवसायी संघका जिल्ला अध्यक्ष बालमणि बरालले सुधारिएको भट्टीभन्दा परम्परागत भट्टीमा सुकाइएको अलैंची नै बढी हुने गरेको बताए । लगानी, तालिम र व्यवस्थापन गर्न सके सुधारिएको भट्टीमा सुकाइएको अलैंचीमा गुणस्तर हुने अध्यक्ष बरालले बताए । तर प्रतिमन (४० केजी) को १ लाख २० हजारसम्म बिक्री गरेको किसानले अहिले प्रतिमन २६ हजारमा बिक्री गर्नुपरेकाले सुधारिएको भट्टीमा लगानी गर्न अनिच्छुक बनेको पाइएको छ ।
घट्दो अलैंची मूल्यले अलैंची सुकाउने सुधारिएको भट्टी निर्माण मात्र होइन, खेती विस्तारमासमेत कमी आएको छ । धान फल्ने खेतदेखि आलु फल्ने टारमा समेत फैलिएको अलैंची खेतीप्रतिको आकर्षणमा कमी आएको छ । यद्यपी धान र आलु खेतीको तुलनामा अलैंचीमै फाइदा छ । तर थोरै अलैंचीमा धेरै आम्दानी समाएकाले किसानमा लोभ पालिएको संकेत भएको स्वयम् किसानकै बुझाई छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा जिल्लामा ४ हजार ५ सय हेक्टरमा अलैंची खेती गरिएको छ । ताप्लेजुङमा वार्षिक २५ सय मेट्रिक टन अलैंची उत्पादन हुन्छ ।
देवराज गुरुङ