कारोबार संवाददाता
शुक्रवार, कार्तिक १६, २०७५
638

हेफर इन्टरनेसनलले प्रवद्र्धन गरेका महिला सामाजिक उद्यमी सहकारी संस्थाहरूलाई सहकारी बैंकले कर्जा दिने भएको छ । दुवै संस्थाबीच बिहीबार भएको यससम्बन्धी सम्झौतामा बैकका प्रवन्ध सञ्चालक केबी उप्रेती र हेफरका कन्ट्री डाइरेक्टर डा.शुभनारायण महतोले हस्ताक्षर गरे
सम्झौता अनुसार सहकारी बैंक र हेफरले महिला सहकारीमार्फत उत्पादन, संकलन, प्रशोधन, बजारीकरणका क्षेत्रमा संयुक्त रुपमा काम गर्नेछन् । बैंकले हेफरद्वारा प्रवद्र्धित महिला सहकारी संघ–संस्थाहरूलाई कर्जालगायत शिक्षा तथा तालिमका कार्यक्रममा सहकार्य गरिने सम्झौतामा उल्लेख छ । महिलाहरूलाई उद्यमशील बनाई कृषि, पशुपालनलगायतका क्षेत्रमा क्रियाशील गराउने र उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने योजनाका साथ सहकार्यलाई अगाडि बढाएको बताइएको छ ।

महिला र युवाहरूको जिम्मेवारीपूर्ण सहभागिता र प्रविधिको अधिकतम प्रयोगबाट मात्रै उत्पादन बढाउन सकिने भएकाले हेफर र सहकारी बैंक मिलेर उत्पादनमा केन्द्रित गरिने बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले बताए ।
यसैगरी हेफरका कन्ट्री डाइरेक्टर महतोले बैंकसँगको सहकार्यले उत्पादनका क्षेत्रमा लागेका महिला सहकारीहरूलाई थप प्रभावकारी र व्यवस्थित गराउन दुवै संस्थाबीच सहकार्य भएको र यसले उत्पादन वृद्धि भई समृद्धिको अभियानमा थप प्रभावकारिता हुने बताए ।
बैंकका प्रवन्ध सञ्चालक केवी उप्रेतीले सबै सहकारीहरूलाई कर्जा, तालिमलगायत आवश्यक सहयोग आफै गर्दै आएकोमा हेफरद्वारा सञ्चालित उद्यमशील सहकारीहरूसँग पनि सहकार्य गर्ने र उत्पादनका क्षेत्रमा बढी केन्द्रीत गरिन जानकारी दिए ।
हेफरले ग्रामिण क्षेत्रमा महिलालाई सहकारीमा संगठित गराइ बचत तथा ऋणका साथै उत्पादन र बजारीकरणका कार्यक्रम समेत संचालक गर्दै आएको छ । बैंकसँगको सहकार्यले यी संस्थाहरूलाई आवश्यक ऋण प्राप्त हुने हेफर इन्टरनेसनल नेपालका कार्यक्रम संयोजक प्रकाश कटुवालले बताए हेफरले ग्रामिण क्षेत्रमा महिलालाई सहकारीमा संगठित गराइ बचत तथा ऋणका साथै उत्पादन र बजारीकरणका कार्यक्रम समेत संचालक गर्दै आएको छ ।
बैंकसँगको सहकार्यले यी संस्थाहरूलाई आवश्यक ऋण प्राप्त हुने हेफर इन्टरनेसनल नेपालका कार्यक्रम संयोजक प्रकाश कटुवालले बताए  हेफर इन्टरनेसनल नेपालले २ सय २६ वटा महिला सहकारी संस्था र ३ वटा विषयगत जिल्ला सहकारी संघमार्फत ११ हजारभन्दा बढी महिला समूहलाई सशक्तीकरण गरेको छ । २ लाख ५० हजार परिवारलाई संगठित गर्दै अगाडि बढेको हेफर र १० हजारभन्दा बढी सहकारी संघ–संस्थाहरू सदस्य रहेको सहकारी बैंकबीचको सहकार्यले महिलाहरूलाई उद्यमशील बनाउन र उत्पादनका क्षेत्रमा केन्द्रीत गर्न सहज हुने बैंकका नायव महाप्रवन्धक बद्रीकुमार गुरागाई बताए ।