महादेव अवस्थी
बिहिवार, कार्तिक १५, २०७५
575

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिकाले कर छली रोक्न सबै वडामा अनुसन्धान टोली परिचालन गर्ने भएको छ । करको दायरा बढाउन चालू आर्थिक वर्षमा अनुसन्धान टोली परिचालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । अहिले नगरपालिकाका सबै वडामा करदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ ।
नगर प्रमुख सुरेन्द्र विष्टले यस वर्षलाई कर संकलन वर्ष घोषणा गरेको बताए । उनले त्यसका लागि करदाता शिक्षा कार्यक्रम सुरु गरिएको र यसपछि कर छली अनुसन्धानका लागि टोली परिचालन गर्ने जानकाी दिए । नगर प्रमुख विष्टले भीमदत्त नगरपालिकाले कर वृद्धि नगरी करको दायरा बढाएको बताए । “नगरपालिका कहिल्यै कर वृृद्धि गर्दैन, करको दायरा बढाउन चाहन्छ,” उनले भने । प्रमुख विष्टले नगर बासिन्दाले तिरेको कर नगरको विकासमा खर्च हुने भएकाले दुरुपयोग गर्न नहुने बताए । अनुसन्धान टोलीले कुन कुन क्षेत्रमा कसरी कर छलिएको छ र त्यसबाट कसरी संकलन गर्न सकिन्छ भनेर अनुसन्धान गर्ने प्रमुख विष्टले बताए ।

राज्यको नयाँ संरचना अनुसार स्थानीय तहले विगतमा संघीय सरकारले संकलन गर्ने कर संकलनको अधिकार पाएको छ । स्थानीय तहलाई ढुंगा, गिट्टी, बालुवाको रोयल्टी कर र घर बहाल कर संकलन अधिकार दिइएको छ । भीमदत्त नगरपालिकाले चालू आर्थिक वर्षमा १३ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । आन्तरिक राजस्वको लक्ष्य गत आर्थिक वर्षको तुलनामा तेब्बर बढी हो । गत वर्ष चार करोडको लक्ष्य राखिएकोमा ५ करोड संकलन गरिएको थियो ।
स्थानीय तहले पाएको नयाँ व्यवस्थाअनुसार भीमदत्त नगरपालिकाले गत वर्ष भीनपा वडा नं. ३, ७ र ९ बाट ३८ लाख रोयल्टी संकलन गरिएको छ । यसअघि तत्कालिन जिल्ला विकास समितिले रोयल्टी संकलन गर्दै आएका थिए । भीमदत्तले एकीकृत सम्पत्ति करबाट सबैभन्दा बढी आन्तरिक आम्दानी संकलन गर्दै आएको छ ।