कारोबार संवाददाता
बुधवार, कार्तिक १४, २०७५
797

धनकुटा-वहुमूल्य गरगहना र सामग्री संग्रह गरिएको धनकुटा सदरमुकाममा रहेको प्रदेश संग्रहालयको सुरक्षा सिसी क्यामेराको भरमा चलिरहेको छ । धनकुटा सदरमुकाममा रहेको प्रदेश संग्रहालयले सुरक्षाको प्रबन्ध नहुँदा पूर्वाधार तयार भएको ८ वर्ष बितिसक्दा समेत धनकुटास्थित प्रदेश संग्रहालयले संचालनमा ल्याउन नसकेको संग्रालय केही समय पहिलाबाट खुला गरेको छ तर त्यसको सुरक्षा भने सिसी क्यामेराको भरमा छ ।
धनकुटा सदरमुकाममा रहेको प्रदेश संग्रहालयले पूर्वमा रहेका सीमान्तकृत, अल्पसंख्यक र लोपोन्मुख आदीवासीहरूको संस्कार र संस्कृतिको झल्को दिन्छ । चलनचल्तीबाट हराउँदै गएका पुरातात्विक सामग्रीको संग्रहले पुरानो आदिवासी संस्कृतिलाई जीवन्त समेत बनाएको छ । स्थापनाको लामो समयसम्म ग्यालरी संचालनमा नआउँदा आगन्तुक र इतिहासका सोधार्थी मर्कामा परेका थिए तर दोस्रो ग्यालरी खुल्ला भए संगै पूर्वाञ्चलमा बसोवास रहेका सिमान्तकृत र लोपोन्मुख आदिवासी जनजातीले प्रयोग गर्ने सुनचाँदीका चुरा, कम्पनी पैसा, हार जस्ता बहुमुल्य गहनाका साथै भेषभूषा, घरेलु औजार र हातहतियार अबलोकन गर्न पाईने भएको छ । यस्तै शेर्पा, लेप्चा, आठपहरिया, लिम्बु, धिमाल, मेचे, राजवंशी लगायत जातजातीका भेषभुषा, हातहतियार भॉडाकुडा र संस्कार संस्कृति झल्कने जानकारी उल्लेखित तस्वीर पनि संग्रहित गरिएको छ ।

संग्रहालयको सुरक्षा गर्नका लागि व्यवस्था गर्न पहिले पटक–पटक पुरातत्व विभागमा पत्र लेखिए पनि अहिलेसम्म सुनुवाइ नभएको प्रदेश संग्रहालय प्रमुख चन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, “अब भने सुरक्षाको व्यवस्था मिलाउने आश्वासन भएको छ, सायद चाँडै होला ।” प्रदेश संग्रहालय भए पनि घुम्न आउने आगन्तुकको भने यहाँ कमी नै रहेको कर्मचारी बताउँछन् ३५ किलोमिटरको दूरीमा रहेको भेडेटार, हिले, नमस्ते झरनालगायतका स्थानमा आउने हजारौं पर्यटकलाई यहाँसम्म ल्याउन नसक्नु र प्रचारप्रसारमा समेत ध्यान नदिनु सम्बन्धित पक्षको कमजोरी भएको स्थानीय बताउँछन् । २०३९ सालमा स्थापना भएको सो संग्रहाहलयको पुरानो ग्यालरी पनि २०५१ सालबाट मात्रै सर्वसाधारणका लागि खुला गरिएको थियो । अल्पसंख्यक र लोपोन्मुख आदिवासीको परम्परा, मौलिक पहिचान र संस्कृतिमा चासो राख्नेका लागि संग्रहालय अध्ययनको उपयुक्त थलो हो । संग्रहालयलाई सरकारले आवश्यक बजेट र जनशक्ति उपलब्ध गराइ व्यवस्थित बनाउनतिर ध्यान दिन आवश्यक छ ।
-विकास घिमिरे