कारोबार संवाददाता
बुधवार, आश्विन १७, २०७५
1510

सिन्धुली-सिन्धुलीका महिला मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । दुधौली नगरपालिकाका अतिसीमान्तकृत समुदायका महिला स्थानीय स्रोत साधनको प्रयोग गर्दै मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका हुन् ।
आफ्नै गाँउ घरमा पाइने बाँस तथा निगालोको प्रयोग गर्दै यहाँका महिला आर्यआर्जनमा लागेका छन् । व्यावसायीक रूपमा मान्द्रो बुन्न थालेपछि दुई–चार पैसाका लागि श्रीमान् तथा परिवारका सदस्यसँग हात फैलाउनु पर्ने समस्या टरेको उनीहरू बताउँछन् ।

कमलाखोंच क्षेत्रअन्तर्गत दुधौली नगरपालिका–३ सिर्थौलीकी चमारनी कुमरले गत वर्षदेखि मान्द्रो बुन्ने पेशालाई अंगालेकी छन् । त्यसै खेर जाने बाँस तथा निगालोले अहिले दामसँगै नाम पनि कमाएको चमारनीले बताइन् । उनले भनिन्, “हामीलाई पहिला केही थाहा थिएन । मान्द्रो बुनेर पनि पैसा कमाउन सकिन्छ र जस्तो लाग्थ्यो । तर गर्ने हो भने यहींबाट पनि मालामाल हुने रैछ ।” उमेरले ३५ काटेकी चमारनीको दैनिकी हिजो आज फेरिएको छ । पहिले–पहिले घरधन्दामै दिन बित्थ्यो उनी भन्छिन्, “अहिले त घरधन्दा सकेर पनि मान्द्रो बुन्न भ्याउँछु । सुरुमा त कसरी समय मिलाउने होला भन्ने लागेको थियो । तर गर्दै जाँदा आँफै मिल्ने कुरा पो रैछ ।” चमारनीले मान्द्रो बुनेर महिनाको १५ हजारसम्म आम्दानी गर्दै आएकी छन् । पहिला पहिला श्रीमान् तथा ससुरा बाजेहरूले मात्र गर्ने गरेको यो पुख्र्यौली पेसा अहिले आफूहरूलाई पनि आम्दानीको राम्रो माध्यम बनेको उनको भनाइ छ ।
सिर्थौलीकै अर्की उद्योमी सतौनी अधिकारीले पनि खेर गइरहेको बाँसको चोयाबाट आफ्नो घर व्यवहार धान्दै आइरहेकी छन । पहिले मान्द्रो बुनेर घर ब्यवहार धानिएला भन्ने सोच कहिलै आएन । “हातमा अन्य सीप छैन, पढाइ लेखाइ पनि छैन, घरपरिवार चलाउन दैनिक ज्याला मजदुरी गर्नुपर्ने बाध्यता थियो ।” उनी भन्छिन्, “अहिले घरमै बसीबसी महिनाको १० हजारभन्दा बढी आम्दानी लिने गरेकी छु ।”
विभिन्न समयमा सरकारी तथा गैरसरकारी संस्थाले दिएको तालिम र सामग्री सहयोग पाएपछि चमारनी र सतौनीजस्तै दनुवार समुदायका १६ भन्दा बढी महिला मान्द्रो बनाउने पेशामा संलग्न छन् । उनीहरू आँफैले मान्द्रो बुन्ने र बेच्ने गर्दै मासिक १० हजारदेखि २० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । दनुवार समुदायको परम्परागत पेसाका रूपमा लिइने तथा पुर्खाहरूले गर्दै आएको मान्द्रो बुन्ने पेसालाई आधुनिकीकरण गर्न थालेपछि उनीहरू आत्मनिर्भरमात्र भएका छैनन् पुख्र्याैली पेशाको पनि संरक्षण भएको छ ।
मान्द्रोको मूल्य एक हजारदेखि २ हजार रुपैयाँसम्म पर्ने उद्यमीहरू बताउँछन् । दुधौलीका दनुवार महिला अहिले पूर्णिमा लघुउद्यमी समूह र राधिका लघुउद्यमी समूह गठन गरेर व्यावसायिक मान्द्रो उत्पादन गर्दै आएका छन् भने गाउँमा केहीले व्यक्तिगत र केहीले समूह गठन गरेरै सामूहिक मान्द्रो बनाउने व्यवसाय सुरु गरेका छन् ।
कमलाखोचमा बसोवास गर्ने अतिसीमान्तकृत दनुवार समुदायको मान्द्रो बनाउने परम्परागत सीप हो । परम्परागत तरिकाबाटै उत्पादन गरिँदै आएको यस्तो व्यवसायले बजारीकरण र प्रचार प्रसारसमेत पाउन नसक्दा यो पेसा लोप हुँदै गएको थियो । “तर, पछिल्लो समय घरमै राम्रो आम्दानी लिन सकिने भएपछि बाँसका चोयाबाट बन्ने अतिआकर्षक बुट्टेदार मान्द्रो राम्रो आम्दानीको स्रोत बनेको छ ।
-कृञ्जला पुलामी