कारोबार संवाददाता
बुधवार, आश्विन १७, २०७५
899

जिल्ला सदरमुकाममा रहेको खाँडाचक्र नगरपालिकाको बैंक खाता बन्द भएपछि आर्थिक कारोबार ठप्प भएको छ । चार महिनाअघि महालेखाले सरुवा गरेका नगरपालिकाका लेखा अधिकृत देवकिरण बुढा सरुवा भई रमना लिएर जान नमानेपछि कोष तथा लेखा नियन्त्रण कार्यालयले खाता बन्द गरेको हो ।
निजामती सेवा ऐन २०४९ को दफा १८, कर्मचारी समायोजन ऐन २०७४ को दफा ११ तथा कर्मचारी समायोजन नियामावली २०७४ को नियम ८ बमोजिम कर्णाली प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको २०७५ असार २६ गतेको निर्णयअनुसार सरुवा भए पनि रमना लिन अटेर गरेका कारण खाता बन्द गर्नुपरेको कालिकोटका निमित्त कोष तथा लेखा नियन्त्रक नैनबहादुर बुढाले वताए । उनका अनुसार सरुवा भएको महिनौ बितिसक्दा पनि नगरपालिकाबाट रमना लिएर नजाँदा बाध्य भएर कोलेनिकाबाट खाता बन्दको पत्र गएको हो ।

कोलेनिकाको पत्रानुसार भदौ १५ गते खाता बन्द भएका कारण दसंैको मुखमा पनि शिक्षक कर्मचारीलाई तलबभत्ता खुवाउन नसकिएको खाँडाचक्र नपाका प्रमुख प्रशासकीय अधिकृत काशिनाथ पंगेनीले प्रतिक्रिया दिए । “असारमा सम्पन्न भएका योजनाको पनि उपभोक्तालाई रकम भुक्तानी गर्न सकिएको छैन्, कर्मचारी शिक्षकलागायतको तलब दिन सकिएको छैन, सामाजिक सुरक्षाभत्ता समेत वितरण भएको छैन,” प्रशासकीय प्रमुख पंगेनीले भने ।
जिल्लाका अन्य स्थानीय तहले तलब खुवाइसक्दा पनि दसंै नजिक आउँदासमेत खाँडाचक्रको खाता बन्द हुनु दुःखद भएको स्थानीय शिक्षक पदमबहादुर मल्ल बताउँछन् ।