गोपाल पोखरेल
बुधवार, आश्विन १७, २०७५
1637

उदयपुर-सरकारले नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाएपछि असारदेखि अवरुद्ध भएको मदन भण्डारी लोकमार्ग निर्माणकार्यले अझै गति लिन सकेको छैन । पछिल्लो समय विद्युत् पोल, घर र वन क्षेत्र सडक निर्माणका लागि मुख्य समस्या भएपछि कामले गति लिन नसकेको हो ।
धरान–चतरा–हेटौंडा खण्डको कतिपय स्थानमा कालोपत्रे गर्ने काममात्र बाँकी रहे पनि सडकको दुवैतर्फ माटो कटिङ भएका स्थानमा टेवा पर्खाल दिने या नदिने भन्ने विषयमा अझै निर्णय हुन सकेको छैन । जसका कारण सडक निर्माणकार्यले गति लिन नसकेको सडक आयोजनाले जनाएको छ ।

“धरान–चतरा–हेटांैडा सडक आयोजनाको कामले विगत तीन महिनादेखि खासै गति लिन सकेको छैन,” निर्माण कम्पनी जेडआईईसी लामा एन्ड शर्मा ज्वाइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर निर्माण पोखरेलले भने, “दुवैतर्फ माटो कटिङ भएका स्थानमा टेवा पर्खाल दिने या नदिने भन्ने विषयमा विभागबाट निर्णय भएको छैन ।” टेवा पर्खालका विषयमा निर्णय नआउँदा कालोपत्रे गर्ने अवस्थामा पुगेका काम पनि त्यत्तिकै रोकेर राख्नु परेको उनले बताए ।
विद्युत् पोल, सडकभित्र पर्ने घर र वन क्षेत्रका कारण पनि सडक निर्माणले गति लिन नसकेको उनको भनाइ छ । कटारी नगरपालिका क्षेत्रको नामीद्वाली र गहिया क्षेत्रको करिब डेढ किमि सडक खण्डको डिजाइन परिवर्तन गरिएकाले त्यस क्षेत्रका विद्युत् पोल, घर र वन क्षेत्र समस्या बनेका छन् । सिन्धुली खण्डको सडकमा पर्ने विद्युत् पोल सार्न गतसाल नै ठेक्का लगाए पनि हालसम्म पोल सारिएको छैन ।
सडक निर्माणको काम तोकिएको समयमै सक्ने गरी भइरहे पनि नदीजन्य पदार्थ उत्खनन्मा तीन महिनासम्म लगाइएको रोक, टेवा पर्खालका विषयमा हुन नसकेको निर्णय, वन क्षेत्र, विद्युत् पोल र सडक क्षेत्रमा पर्ने घरका कारण पछिल्लो समय निर्माणकार्य गतिशील हुन नसकेको आयोजनाले जनाएको छ । धरान–चतरा– हेटौंडा पूर्वीखण्डको १३४ किमिमध्ये करिब ३५ किमिमा कालोपत्रे गर्ने तयारी गरिए पनि टेवा पर्खाल दिनुपर्र्ने अवस्था छ ।
“सडकको दुवैतर्फ ठूलाठूला कटिङ भएकाले टेवा पर्खाल नदिई कालोपत्रे गर्दा सडक दिगो हुँदैन,” म्यानेजर पोखरेल भन्छन्, “तर यस विषयमा विभागबाट कुनै निर्णय आएको छैन ।” हाल वन क्षेत्र, विद्युत् पोल र घर नपर्ने क्षेत्रमा काम भइरहेको उनको भनाइ छ ।
सरकारले मदन भण्डारी लोकमार्ग नामकरण गरेको धरान–चतरा–हेटौंडा सडक योजना दुई खण्डमा विभाजन गरेर निर्माणका लागि ठेक्का लगाइएको छ । धरानदेखि सिन्धुलीको भिमानसम्म पूर्वीखण्डमा पर्दछ । पूर्वीखण्डमा ४३ वटा पुलसहित १३४ किमि सडक निर्माणकार्य करिब दुई वर्षयता भइरहेको छ । विभिन्न खोलामा निर्माण हुने पक्की पुलबाहेक ६ अर्ब रुपैयाँको लागतमा ३ वर्षभित्र सम्पन्न गर्ने गरी सडक निर्माणको काम भइरहेको सडक आयोजनाले जनाएको छ । यस खण्डमा पर्ने ४३ वटा पुल निर्माणको ठेक्का भने कोभेक/रसुवा/टुन्दी जेभी कन्ट्रक्सनले लिएर काम गरिरहेको छ ।
सवारी साधनका लागि ७ मिटर र दाया“ बा“या सोल्जर क्षेत्र २/२ मिटर गरी ११ मिटर सडक कालोपत्रे हुने यो सडक २०७६ सालसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको छ ।