कारोबार संवाददाता
बुधवार, आश्विन १७, २०७५
683

काठमाडौं-नेपाल र दक्षिण कोरियाबीच वन तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य हुने भएको छ । कोरियाले नेपालको वन तथा पर्यावरण क्षेत्रमा आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न चासो देखाएको हो ।
मंगलबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालका लागि कोरियाली राजदूत पार्कयोस सिकले सहकार्यको प्रस्ताव राखेका हुन् । लामो समय युद्धबाट गुज्रिएको कोरियाले खाली जमिनमा जंगल क्षेत्र विस्तार गरेको चर्चा राजदूत सिकले नेपालसहित विकासशील मुलुकमा सोही पद्दति अवलम्बन गर्न सकिने बताए । कोरिया सरकारको हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत नेपालमा सहयोग गर्न तयार रहेको राजदूत सिकको भनाइ थियो ।

भेटमा मन्त्री बस्नेतले कोरियाको अनुभव नेपालजस्ता तेस्रो मुलुकका लागि अनुकरणीय हुने भन्दै सहकार्यका लागि तयार रहेको बताए । मन्त्री बस्नेतले केही वर्षअघि नेपालमा वन जंगल विनास भएर मरुभूमिकरण हुने हो कि भन्ने विश्वसमुदायले चिन्ता जाहेर गर्ने गरेको स्मरण गर्दै पछिल्लो समय नेपालको कुल क्षेत्रफलमध्ये करिब ४५ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको तथ्यांक उल्लेख गरेका थिए । “हामीले वन क्षेत्र र पर्यावरण संरक्षणमा धेरै राम्रो सफलता प्राप्त गरेका छौं,” मन्त्री बस्नेतले भने , “खर्भरै मात्र सार्वजनिक गरिएको बाघ गणनाको तथ्यांकले पनि त्यही देखाउँछ ।”
उनले आफ्नो मन्त्रालयले वन पैदावारमा आधारित उद्यमशिलता, इको टुरिज्म प्रवद्र्धन, वाटर रिसोर्स म्यानेजमेन्ट र एग्रो फरेस्ट्रीजस्ता एजेन्डामा केन्द्रित रहेर कार्ययोजना बनाएको बताए । नेपाल पूर्वाधार विकासको चरणमा रहेको भन्दै मन्त्री बस्नेतले विकास र पर्यावरणबीच सन्तुलन मिलाएर अघि बढ्ने नीतिमा सरकार र मन्त्रालय रहेको अवगत उनको भनाइ थियो । “नेपालमा वन जंगल बढेकाले अब काष्ठ र गैरकाष्ठजन्य वस्तुसँगै कार्बन व्यापार गर्ने योजना बनाएका छौ,” उनले भने, “करिब ४४ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको छ, अब हामी कार्बनको अन्तर्राष्ट्रिय व्यापार गर्ने बारेमा सोचिरहेका छौं ।”