कारोबार संवाददाता
बुधवार, आश्विन १७, २०७५
852

बानेश्वरस्थित संगम स्वीट्स एन्ड स्न्याक्सले अखाद्य वस्तु उत्पादन गरी उपभोक्ता ठग्ने गरेको फेला परेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चको संयुक्त टोलीले मंगलबार गरेको अनुगमनका क्रममा संगम स्वीट्सले गुणस्तरहीन वस्तु उत्पादन र बिक्रीवितरण गर्ने फेला पारेको हो । अनुगमनका क्रममा सो पसलले बिक्री गर्दै आएको मिठाइमा अखाद्य वस्तु भेटिएपछि मिलनचोकमा रहेको गोदामका साथै बानेश्वरको पसलमा उत्पादन र वितरणमा रोक लगाई शिलबन्दी गरिएको हो ।
अनुगमनका क्रममा संगम स्वीट्सले प्रतिबन्धित केमिकल ‘हाइड्रो ए वान’ समेत मिठाइमा प्रयोग गरेको पाइएको विभागले जनाएको छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले कपडामा प्रयोग गरिने हाइड्रो ए वान केमिकलसमेत दूध र रसभरीमा प्रयोग गरेको भेटिएको जानकारी दिए । उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने गरी अखाद्य वस्तु उत्पादन गरी वितरण गरेको फेला परेकाले वितरणमा रोक लगाई पसलमा शिलबन्दी गरिएको उनले जानकारी दिए ।
अनुगमनका क्रममा सन् २०११ मा म्याद सकिएको बर्फी बनाउनका प्रयोग हुने कोकनटको पाउडर फेला परेको छ । यस्तै न्यून गुणस्तरको तेल प्रयोग गरी मिठाई बनाउने गरेको टोलीले जनाएको छ । विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले संगम स्वीट्सले स्वास्थ्यलाई प्रतिकूल असर पर्ने गरी मिठाई उत्पादन गरी वितरण गर्ने गरेको फेला परेको बताए । “पसलको गोदाममा भेटिएको मैदामा समेत उत्पादन मिति भेटिएन,” उनले भने, “गोदाम शिल गरी पसलको बिक्री वितरणमा रोक लगाएको छौं ।” उनले पसल सञ्चालकलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको बताए ।