कारोबार संवाददाता
मंगलबार, आश्विन १६, २०७५
1160

 

विराटनगर-पार्किङ गर्ने ठाउँको अभाव भएपछि ्याङ्कर चालकले यात्रु अवागमन गर्ने स्थानसमेत ओगटी दिँदा सर्वसाधारण समस्यमा परेका छन् । 
विराटनगर महानगरपालिकाको कञ्चनबारी माथि धरान–विराटनगर सडकको छेउमा नेपाल आयल निगम लिमिटेड १ नं प्रादेशिक कार्यालयमा इन्धन लिन आउने र जाने ट्याङ्करले सडकको दुवै भागमा पार्किङ गरेर राख्दा त्यस क्षेत्रमा दुर्घटना बढ्नुका साथै अन्य सवारी साधन अवागमनमा पनि समस्या भएको हो । 

छ लेनको सो सडकमा कञ्चनबारीदेखि माथि दुग्ध फार्मसम्म सडकको दुवै किनारामा सयौँको सङ्ख्यामा इन्धन बोक्ने ट्याङ्कर पार्किङ गरेर राखिएको हुन्छ । सडक खाली गर्न स्थानीय बासिन्दा र ट्राफिक प्रहरीको दबाब नेपाल आयल निगमलाई बढ्न थालेपछि निगमले आज यहाँ बृहत् छलफल कार्यक्रम आयोजना गर्यो । 
छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिव पोखरेलले सडकलाई कुरुप बनाउने, दुर्घटना निम्त्याउने, र अन्य सवारी साधन आवागमनमा बाधा पुराउने भएकाले जतिसक्दो पार्किङका लागि निगमले निकास दिनुपर्ने बताए । 
विराटनगर महानगरपालिका– ३ र ४ का वडाध्यक्ष विनोद बस्नेत र देवेन्द्रराज पोखरेलले पार्किङ गरेर राखिएको स्थान वरपर मानव बस्ती रहेको र यस स्थानमा आगोलागिका घटना भए हजाराँै मानिसको ज्यान जोखिममा पर्ने भएकाले यसतर्फ निगमले समयमै ध्यान पुराउनु पर्ने सुझाव दिए । 
पेट्रोल डिलर एशोसिएशन पूर्वअध्यक्ष केशरबहादुर खड्का, नागरिक समाजका अगुवा किशोरप्रसाद भण्डारी, राजेन्द्र खनाल, राजेश मास्के, दुर्गा चापागाइँलगायतले समस्या समाधानतर्फ निगमको ध्यान जानुपर्ने बताए । 
निगमका प्रमुख दिनेशकुमार यादवले भविष्यमा हुने जनधनको क्षतिप्रति निगम गम्भीर भएको र यसका लागि निगम नजिक तीन बिघासम्म जग्गा भाडा लिएर पार्किङस्थल बनाइने बताए । 
उनले निगमले करीब १० कट्ठा जग्गामा पार्किङस्थल बनाएको र तर निगमको मातहतमा रहेको ३९७ ट्याङ्करलाई व्यवस्थित गर्न ठाउँको अभाव भएकाले नयाँ जग्गाको खोजी भइरहेको जानकारी दिए ।