कारोबार संवाददाता
मंगलबार, आश्विन १६, २०७५
1257

बाँके-नेपालगन्जस्थित अत्याधुनिक बसपार्क निर्माणकार्य ढिलाइ भएको छ । निर्माण कम्पनी युनाइटेड बिल्डर्सको लापरबाहीका कारण सम्झौता अवधिभन्दा अढाइ वर्ष ढिलाइ भइसकेको छ ।
नगर विकास कोषको १४ करोड ९४ लाख ७५ हजार ऋण लगानीमा निर्माण कम्पनी युनाइटेड बिल्डर्ससँग १५ महिनाभित्र सम्पन्न गर्नेगरी ३१ मार्च २०१६ मा सम्झौता भए पनि हालसम्म अधुरो छ । सम्झौतामा २०१७ अगस्टभित्र काम सम्पन्न गर्नुपर्नेमा सो अवधिमा काम हुन नसकेपछि ४ मार्च २०१७ मा सक्नेगरी पहिलोपटक ७ महिनाका लागि म्याद थपिएको नेपालगन्ज उपमहानगरले जनाएको छ ।

थपिएको अवधिभित्र पनी काम सम्पन्न नभएपछि २० जुलाई २०१७ मा सम्पन्न गर्ने गरी पुनः चार महिनाका लागि दोस्रो पटक म्याद थपिएको थियो । निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै निर्माणकार्य अधुरै रहेपछि २८ फेबु्रवरी २०१९ सम्मका लागि तेस्रो पटक ७ महिना म्याद थप गरिएको नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर सुरज गुप्ताले जानकारी दिए । हालको स्टिमेटअनुसार बसपार्कको डीजाईनमा थप संरचना निर्माण हुने गरी १६ करोड ६७ लाख ३४ हजार ८८६ को लागतमा निर्माण हुने छ ।
निर्माण सक्न चार महिना बाँकी रहँदा बसपार्क निर्माणको ६० प्रतिसत काम सकिएको प्राविधिक रेखदेख तथा सुपरभिजनको जिम्मा पाएको सेरा कन्सल्टेन्ट प्रालिले जनाएको छ । प्रालिका कन्सल्ट्यान्ट इन्जिनियर धर्मराज भट्टराईका अनुसार अन्तिम सम्झौताको चार महिना बाँकी रहँदा मुख्य टर्मिनल भवन, ३४ सटरसहितको तिनवटा सपिंग भवन, सार्वजनिक शौचालय, अन्डर ग्राउन्ड र ओभरहेड खानेपानी ट्यांकी र सेप्टीट्यांकीको काम पूरा भएको छ । “अहिले काम तीव्र रूपमा भइरहेको छ,” उनले भने, “दसंै तिहारनजिकै आइसकेकेकाले कामको गतिमा कमी आए तोकिएको समयमा पूरा हुन गाहै्र छ ।”
यता नेपालगन्ज उपमहानगरपालिकाले समयमै निर्माणकार्य सक्न ताकेता गरेको जनाएको छ । “नेपालगन्जमा सामग्री नपाइने हुँदा भारतबाट सामग्री मगाउनु पर्ने, स्थानीय तह निर्वाचनलगायत विविध कारणले बसपार्क निर्माणमा ढिला भए पनि अब तोकिएको अवधिमा सक्न हामीले निर्देशन दिएका छौं,” उपमेयर उमा थापा मगरले भनिन्, “सानातिना काम बाँकी रहे पनि मुख्य काम सक्न भनेका छौ ।”
योजना बनाउने बेलामा अत्याधुनिक बसपार्क निर्माणको केही डिजाइन छुटेका कारण पुनः डिजाइन गरी काम अघि बढेकाले २०१९ फेब्रुवरीसम्म जसरी पनी काम सकेर बसपार्क सञ्चालनमा आउने उनकोे भनाइ छ । १५ महिनामा सक्नुपर्ने काम अढाइ वर्ष ढिला हुँदा पनि सम्पन्न नहुँदा बस काउन्टर सञ्चालनमा समस्या हुनुका साथै यात्रीले सास्ती खेप्दै आएका छन् । निर्माणमा ढिलाइ हुँदा गाडी पार्किङ, टिकट काउन्टर सञ्चालन र यात्रुहरूलाई समस्या भएको वागेश्वरी यातायात समितिका काउन्टर इन्चार्ज मोहनसिंह थापाले बताए । “यातायात व्यवसायीलाई गाडी पार्किङमा समस्या भएको छ,” उनले भने, “व्यवस्थित टिकट काउन्टर नहुँदा यात्रु पनि अलमलमा पर्ने गरेका छन् ।”
समयमै निर्माणकार्य पूरा नहुँदा बसपार्कमा पार्किङ गर्नुपर्ने बस सडकमै खचाखच भरिएर सडक नै बसपार्क जस्तो भएको छ । सडकमा अव्यवस्थित तरिकाले सवारीसाधन राखेका कारण पुष्पलाल चोकदेखि बसपार्कसम्मको ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएको छ ।
-लक्ष्मण ढुंगाना