अमरराज आचार्य
शुक्रवार, आश्विन १२, २०७५
995

दाङ-घोराही उपमहानगरपालिका सबै वडा कार्यालयको अझैसम्म आफ्नो भवन निर्माण हुन सकेको छैन ।
भाडामा लिएर कार्यालय सञ्चालन गर्दा सहज रूपमा सेवा दिन समस्या भएको वडा कार्यालयहरूले जनाएका छन् । आफ्नो भवन नहँुदा भाडामा कार्यालय सञ्चाल नगर्दा समस्या पर्ने गरेको वडा नं ३ का वडाध्यक्ष माधव चौधरीले बताए । वडा नं ३ ले अहिले ३ वटा कोठा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । ३ वटा कोठामात्र हुँदा काम गर्नसमेत समस्या भएको अध्यक्ष चौधरीले बताए । एउटा कोठामा सामान राख्नै ठिक्क हुने गरेको छ भने २ वटा कोठाबाट काम गर्नुपर्ने बाध्यता रहेको छ । “वडा कार्यालयमा आउने सेवाग्राहीलाई बसाउने ठाउँ छैन उभाएर नै सेवादिनु पर्ने अवस्था छ,” अध्यक्ष चौधरीले भने । उनले भने बैठक बस्नसमेत समस्या भएको छ । कार्यालय सञ्चालनका लागि कम्तीमा ४ वटा कोठा तथा हलसमेत आवश्यक पर्ने उनको भनाइ छ । सहज रूपमा सेवा दिनका लागि आफ्नो कार्यालय आवश्यक रहेको अध्यक्ष चौधरीले बताए । उनले चालू आर्थिक वर्षमा वडा कार्यालय निर्माण सुरु गर्ने बताए ।

आफ्नै कार्यालय नहँुदा प्राविधिक समस्या देखा पर्ने गरेको वडा नं १३ का अध्यक्ष रविलाल घर्तीले बताए । वडा नं १३ ले ५ वटा कोठा भाडा लिएर सञ्चालन गर्दै आएको जनाएको छ । भाडामा लिएर कार्यालय सञ्चालन गरे पनि समस्या भने छैन । “समस्या भए पनि आफ्नो भवन भएको जस्तो हँुदैन,” अध्यक्ष घर्तीले भने । वडा कार्यालयको आफ्नै भवन भएमा काममा सहज हुने उनको भनाइ छ । वडा कार्यालयले हाल ५ वटा कोठा भाडामा लिएवापत मासिक करिब १२ हजार तिर्दै आएको जनाएको छ । यसरी वडा कार्यालय भाडामा सञ्चालन गर्दा आर्थिक रुपमा धेरै खर्च हुने गरेको छ । वडा कार्यालयलाई सहज रूपमा सेवादिन समस्या पर्ने गरेको छ ।
उपमहानगरपालिकाका १९ वटा वडामध्ये १० वटा वडा कार्यालयले मात्रै आफ्नै भवनबाट सेवा दिई राखेका छन् भने हालसम्म ९ वटा वडा कार्यालयले भाडामा लिएर कार्यालय सञ्चालन गरी राखेको घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भमिबहादुर चौधरीले बताए । यसरी आफ्नै भवन भएका वडा कार्यालय पनि साविकका गाविस कार्यालयमा रहेका छन् ।


सातामा धेरै पढिएको