कारोबार संवाददाता
शुक्रवार, आश्विन १२, २०७५
645

नेपालका २० नगरपालिकामा सामुदायिक व्यवस्थापनमा खानेपानी तथा सरसफाइका लागि एसियाली विकास बैंक (एडीबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने निर्णय गरेको छ ।
एडीबीको बोर्ड बैठकले सहरी क्षेत्रका २० नगरपालिकामा खानेपानी र सरसफाइमा पहुँच पु¥याउनका लागि १३ करोड अमेरिका डलर अर्थात् १५ अर्ब रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको हो । यो निर्णयअनुसार सरकारले ऋण सहयोग स्वीकार गरेपछि यो कार्यान्वयनमा आउनेछ । ५ वर्षभित्र सम्पन्न गर्ने ती आयोजनाको कुल लागत २० अर्ब ५० करोड अर्थात् १७ करोड ५० लाख डलरमा नेपाल र उपभोक्ताले साढे पाँच अर्ब रुपैयाँ खर्च गर्नेछन् ।

एडीबीका वरिष्ठ सहरी विकास विशेषज्ञ सुश्री अलेक्जेंडरराग बोगलले खानेपानी र सरसफाइको अभावमा वातावरणमा पारेको असर, स्वास्थ्य जोखिम र बढ्दो गरिबीलाई अन्त्य गरी गुणस्तरीय खानेपानी र सरसफाइको पहुँच वृद्धिका लागि सहयोग पुग्ने बताए ।
एक हजार ६ सय किलोमिटर खानेपानी पाइप बिछ्याउने र १५ पानी प्रशोधन केन्द्र स्थापनामार्फत ६६ हजार घर परिवारलाई पिउने पानीका साथै ८ हजार शौचालय र २० वाटा सार्वजनिक शौचालय बनाउने लक्ष्य ती आयोजनाको छ । दुईवटा वेस्ट वाटर ट्रिटमेट प्लान्ट बनाउने लक्ष्य राखिएको आयोजना अघि बढाउन स्थानीय उपभोक्ता समितिहरू उपयोग गर्ने उल्लेख छ ।