रासस
बिहिवार, आश्विन ११, २०७५
805

मुसिकोट- यस वर्षको बाढीपहिरोबाट रुकुम पश्चिममा रु ३० करोडभन्दा बढी क्षति भएको छ । 
जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमले जिल्लाका ६ स्थानीय तहबाट लिएको जानकारीअनुसार रु ३० करोड १५ लाख ८२ हजार रकम क्षति भएको पाइएको हो । बाढीपहिरोबाट सबैभन्दा बढी मुसिकोट नगरपालिकामा रु सात करोड दुई लाख १२ हजार बराबरको क्षति भएको छ । यहाँका १५ घर पूर्णरुपमा क्षति भएको र ५१ घरमा आंशिक क्षति पुगेको नगरपालिकाले जनाएको छ । 

आठविसकोट नगरपालिकामा ३१ घर पूर्णरुपमा क्षतिग्रस्त भएको र १७ घरमा आंशिक क्षति पुगेको छ । यस नगरपालिकामा रु ६ करोड ४३ लाख ३१ हजार क्षति भएको बताइएको छ । चौरजहारी नगरपालिकामा चार वटा घरमा पूर्णरुपमा क्षति पुगेको र २९ घरमा आंशिक क्षति भई रु दुई करोड ५९ लाख ६८ हजार बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 
यस्तै जिल्लाको सानीभेरी गाउँपालिकामा सात वटा घर पूर्णरुपमा क्षति भएको, १० वटा घरमा आंशिक क्षति भएको र जम्मा ६ करोड ५० लाख पाँच हजार बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । यहाँको त्रिवेणी गाँउपालिकामा भने दुई वटा घरमा पूर्णरुपमा क्षति पुगेको र ६६ वटा घरमा आंशिक क्षति भएको छ । यस गाउँपालिकामा चार करोड चार लाख ६० हजार बराबरको क्षति भएको जानकारी दिइएको छ । सबैभन्दा कम बाँफिकोट गाउँपालिकामा दुई करोड ५१ लाख ३६ हजारको क्षति भएको छ । यहाँका १० घर पूर्णरुपमा क्षति भएको र ३४ वटा घरमा आंशिक क्षति पुगेको गाउँपालिकालेब बताएको छ । 


सातामा धेरै पढिएको