कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५
1111

कञ्चनपुर-महेन्द्रनगर नगर विकास समितिको जग्गामा मापदण्डविपरीत निर्माण गरिएका संरचनाको निर्माणकार्य रोकिने भएको छ् ।
नगर विकास समितिमा बसेको सर्वदलीय बैठकमा मापदण्डविपरीतको निर्माण रोक्का गर्ने निर्णय गरेको हो । भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा राजनीतिक दलहरूको बैठक बसेको थियो । बैठक सकिएपछि नगरप्रमुख विष्टसहित राजनीतिक दलका नेताले प्रशासन कार्यालय पुगेर सर्वदलीय निर्णयबारे जानकारी गराएका छन् । निर्मला पन्त हत्या प्रकरणलाई लिएर आन्दोलन चर्किएपछि नगर विकास समितिको जग्गा कब्जा गरी धमाधम भौतिक संरचना निर्माण गरिएका छन् । अहिले पुरानो बसपार्क, पुरानो जिल्ला प्रशासन कार्यालय अगाडि, ग्रिनबेल्ट क्षेत्र र एनसीसी बैंक रोड क्षेत्रमा संरचना निर्माण गरिएका छन् । नगर विकास समितिका सूचना अधिकारी पुष्पराज भट्टले सर्वदलीय बैठकबाट ऐन कानुन प्रक्रिया मिचेर निर्माण गरिएका संरचनाको निर्माण रोक्न निर्णय गरिएको जानकारी दिए ।

उनले भने, “बुधबार नगर प्रमुखज्यूको अध्यक्षतामा बैठक बस्यो, त्यो बैठकले ऐन, कानुन, नियम, प्रक्रिया, मापदण्ड मिचेर निर्माण गरिएका संरचनाको निर्माण रोक्न निर्णय गरिएको छ ।” सर्वदलीय बैठकले २०७४ असोज ९ गतेको निर्णयका आधारमा मापदण्डविपरीतको निर्माणकार्य रोक्का गर्ने निर्णय गरेको हो । स्थानीय तह निर्वाचनको मौका पारी अवैध संरचना निर्माण गरिएपछि सर्वदलीय बैठकले प्रहरी परिचालन गरी निर्माण रोक्का गर्ने निर्णय गरिएको थियो । नगर विकास समितिका सूचना अधिकारी भट्टले अहिले त्यहीं निर्णयलाई टेकेर संरचना निर्माण रोक्का गर्ने निर्णय गरिएको जानकारी दिए ।
भीमदत्त नगरपालिका नगर विकास समितिमा पदेन सदस्य छ । नगरप्रमुख विष्टले नविसको जग्गा कब्जा गरी निर्माण थालिएका अवैध संरचनाले नगरको संरचना बिग्रेन भएकाले सर्वदलीय बैठक गरी संरचना निर्माणको पहल गरेका हुन् । “नगर विकास समिति आफ्नो ऐनअनुसार चल्छ, समिति स्वायत्त छ, समितिको जग्गामा बन्ने संरचना रोक्न काम नगर विकास समितिको नै हो,” नगरप्रमुख विष्टले भने, “समितिको जग्गा कब्जा गरी संरचना बनिरहेका छन, यसमा समिति गम्भीर हुनुपर्छ, नगरपालिकाले सक्दो सहयोग गर्छ ।” स्थानीय तह निर्वाचनपछि नगर विकास समिति अहिलेसम्म नगरपालिका मातहत आएको छैन ।
नगर विकास समितिका अध्यक्षहरूले तोकादेशका आधारमा लिज र पुर्जा दिएपछि विवाद चर्किएको हो । समितिले दिएको तोकादेश कागज देखाउँदै संरचना निर्माण गरिएका छन् । केहीले भने कागजपत्रबिना जग्गा कब्जा गरी संरचना निर्माण गरिरहेका छन् । गत वर्ष सर्वदलीय बैठकले प्रहरी परिचालन गर्ने निर्णय गरिएपछि कामकाज रोकिएको थियो । निर्मला पन्त हत्या प्रकरणमा चर्किएको आन्दोलनपछि प्रशासन र सुरक्षा प्रमुखको सरुवा भएपछि एकाएक अवैध निर्माण थालिएको हो ।

-महादेव अवस्थी