अनुपमा खनाल
बिहिवार, आश्विन ११, २०७५
1258

गोरखा-पालुङटार नगरपालिका–५ रानीखोलाका मेघबहादुर गुरुङको ढुंगामाटाको घर ४० महिना अघिको गोरखा भूकम्पले गल्र्यामगुर्लुम्मै ढल्यो । अझै पनि जस्ताको टहरामा रहेका उनको नयाँ घर छाउने बेला भइसक्यो । तर पहिले र अहिलेको घरमा धेरै भिन्नता छ । “पहिलेको घर त ढुंगामाटोको जोडाइ, चारैतिर गोबर माटोले लिपेको, पाली हालेको, जस्ताले छाएको थियो,” मेघबहादुर भन्छन्, “अहिले त इट्टा र सिमेन्टको जोडाइमा रड हालेर २ कोठे घर बन्दैछ,” आँखैअघि पुरानो घर ढल्दा ढुंगामाटोको घर बलियो हुदैनन् भन्ने भ्रममा छन् उनी । “इन्जिनियर पनि आथे, ढुंगामाटाका घरको त कुरै गरेनन्, ढुंगामाटाकै घर त ३ लाख जतिमा बन्थ्यो होला, अहिलेको ६ लाख लाग्ने भयो,” उनले भने, “डेढ लाख रुपैयाँ जति ऋण छ । पैसो नभएर छानो हाल्न पाएको छैन ।” खेती किसानी गर्ने उनलाई अहिले बनिरहेको घरमा बाली कहाँ थन्काउने भन्ने चिन्ता छ । “धान, मकै आउँछ, यो सिमेन्टीको चिसोमा त बिग्रेला, अब छुट्टै टहरा बनाउन पर्ला राखन धरनलाई,” उनले भने, “सिमेन्टीको घरमा चिसो पनि लाग्ला, कार्पेट हाल्नुपर्ने होला, आगो कहाँ बाल्ने ? माटाका घर त जाडोमा पनि न्यानो हुन्थ्यो ।” पालुङटार नगरपालिका–४ नयाँगाउँका भीमबहादुर रानाभाटले पनि इट्टा र सिमेन्टको जोडाइमा ४ सुरमा रड हालेर ५ लाख रुपैयाँको लागतमा २ कोठे घर बनाएका छन् । ढुंगामाटाका घर बनाए अनुदान पाइँदैन भन्ने उनको बुझाइ छ । “ढुंगामाटाको घर राम्रो हुन्थ्यो,” उनले भने, “आफूखुसी घर बनाउँदा सरकारले दिने अनुदान पाइँदैन कि भनेर इट्टासिमेन्ट जोडें ।” गाउँमा अहिले उनीहरूले बनाएकाजस्तै घर धेरै देखिन्छन् । भूकम्पपीडितलाई घर पुनर्निर्माणमा परामर्शसहित प्राविधिक ज्ञान दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसहित विभिन्न संघसंस्था पनि छन् । तर गाउँ पुगेका इन्जिनियर र पुनर्निर्माणमा खटिएका विभिन्न संघसंस्थाले ढुंगामाटोको घर पनि भूकम्पले थेग्न सक्ने हुन्छन् भनेर गाउँलेलाई बुझाउन नसक्दा मौलिकता बोकेका ढुंगामाटाका घर हराउँदै गएको छ । पुनर्निर्माणमा खटिएका इन्जिनियर दर्शन अधिकारीका अनुसार पालुङटार नगरपालिकामा करिब १० प्रतिशतले मात्रै ढुंगामाटोको घर बनाएका छन् । “प्राविधिक पक्ष कमजोर भएका घरमात्रै भत्किएका हुन्,” उनले भने, “नस हालेका ढुंगामाटाका घर त अझै पनि देखिन्छन् । तारजाली हालेर ढुंगामाटोको गाह्रोमा बन्धन बाँधेर बलियो हुनेगरी घर बनाउन सकिन्छ । ढुंगामाटो सजिलै पाइने भएकाले ज्यालाको कुरो मात्रै हो, यस्ता घर कम पैसामा बनाउन सकिन्छ । तर यहाँका मानिसलाई भत्किन्छ भन्ने लागेर होला त्यस्ता घर बनेका छैनन् ।” भारत सरकारको आर्थिक सहयोगमा यूएनडीपी र ओडीआरसीको समन्वयमा सञ्चालित नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत पालुङटारमा रहेको नक्सापास स्टुडियोमा पनि ढुंगामाटोको घर बनाउने गरी नक्सा बनाउन आउनेको संख्या छ । स्टुडियोबाट हालसम्म २४६ नक्सा बनाएकोमा करिब ७० प्रतिशत घर इट्टा सिमेन्ट जोडाइको रहेको स्ट्रक्चरल इन्जिनियर विश्वराम गोसार्इंले जानकारी दिए । उनले भने, “आरसीसी घर पनि आउँछन्, लिगलिगकोट माथिका गाउँका लागि ढुंगामाटोको घर आजभोलि अलिअलि आएको छ ।”


सातामा धेरै पढिएको