रेशमराज रोकाया
बिहिवार, आश्विन ११, २०७५
2054

हुम्ला-हुम्लाको प्रमुख फलफुल स्याउ पाकेर रातै भएका छन् । हरेक गाउँमा अधिकांश खेती गरिने स्याउ भदौ दोस्रो सातादेखि पाक्न सुरु भएपछि हाल स्याउका बगैंचा रातै देखिन थालेका हुन् । अति नै मिठो हुने गरी स्याउमा रस भरिएपछि स्याउको उपभोगमा पनि वृद्धि भएको छ । होचो भूभागमा खेती गरिएको स्याउ भदौ पहिलो सातामा पाकेको भए पनि हाल सिमिकोट र यसको आसपासमा खेती गरिएको स्याउ पाक्न सुरु भएका छन् । स्याउ बिक्रीबाट स्थानीय किसानले राम्रो आम्दानी लिन थालेका छन् ।
सिमकोट गाउँपालिका–६ का किसान तारादेवी रावतले स्याउको खेती गरेर घरखर्च र आफ्नो व्यक्तिगत खर्च यही स्याउबाट टार्ने गरेकी छन् । गत वर्ष एक सय स्याउको बोटबाट ७० हजार आम्दानी भएको उनले बताइन् । १ रोपनी जग्गामा घेरबारसहित स्याउको खेती गर्न सुरु गरेकी तारादेवी हिउँदमा काठमाडौं घुम्न र नयाँ कपडा किन्नका लागि यही स्याउ खेतीको सहारा लिने गरेको बताउँछिन् । काम नपाएर कोही बेरोजगार बस्नुभन्दा कृषि कर्म र फलफूल खेती गेरै भए पनि आम्दानी बढाउन उनी सक्रिय छिन् । घरमा राम्रो आयआर्जन भए पनि घरका सबै परिवारले आम्दानी गर्न सकेमा घरको आर्थिक स्थिति अझ मजबुत हुने उनको भनाइ छ । घरको अन्य सदस्यको कमाइमा रमाउनुभन्दा सबैले केही न केही व्यवसाय गर्न सकेमा समाज र राष्ट्रको आर्थिक उन्नति हुने रावतको भनाइ छ । तारादेवीले दिउँसो पसलमा पनि डोकोभरि स्याउ बिक्री गर्ने गरेकी छिन् भने चिनेजानेका क्रेताले बारीमा नै गएर किन्ने गरेको बताइन् । चिनेका ग्राहकले फोन गरेर बारीबाट ताजा स्याउ रुखबाट टिपेर नै लिने गरेको उनको भनाइ छ । विमानस्थलनजिकै उनको बारी भएका कारण स्याउ किन्नका लागि क्रेताको समस्या नभएको उनले बताइन् ।

जिल्लाको मुख्य निर्यात नै स्याउ
सिमकोट गाउँपालिका आसपासका बजारमा हाल स्याउ बिक्री गर्ने बिक्रेताको भीड नै लाग्ने गरेको छ । जिल्लाभन्दा बाहिर प्रस्थान गर्ने हरेक हवाइजहाज यात्रीसँग स्याउ नभएको व्यक्ति नै नहुने गरेको स्थानीयले बताउँछन् । दसैं नजिकिँदै गर्दा जिल्लाभन्दा बाहिर जाने हरेक यात्रुले उपहारको रूपमा स्याउ बोक्ने गरेको पाइएको छ । हुम्लाको स्याउ देशको अन्य भूभागको स्याउभन्दा अति नै मिठो भएकाले आफू दसैंमा घर जाँदा २ सयभन्दा बढी स्याउ लैजाने योजना रहेको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डेको भनाइ छ । योभन्दा पहिले घरमा जाँदा केही मात्रामा स्याउ बोकेका पाण्डेले घरका परिवार र साथीले स्याउ अति नै मिठो भएको र माग गरेको कारण आफु हुम्लाबाट जाँदा लैजाने मुख्य उपहार भनेकै स्याउ भएको बताए । त्यसैगरी सिमकोट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीका अनुसार हुम्लाबाट यो मौसममा निर्यात हुने स्याउ नै भएको कारण सिमकोट गाउँपालिकाका किसानको मुख्य आयस्रोत भनेकै स्याउ रहेको बताए ।
अति नै स्वादिस्ट भएको कारण हुम्लाको स्याउ हरेक वर्ष देशको विभिन्न भुभागमा निर्यात गर्ने गरिएको छ । जिल्लाको अन्य गाउँपालिकामा स्याउको खेती गर्ने गरिएको भएता पनि ढुवानीको लागि सवारी साधन नभएका कारण स्याउ त्यसै खेर जाने गरेको छ । स्याउको कुनै मूल्यबिना नै गाउँका बासिन्दाले बाँडिचुँडी खानुबाहेक अन्य विकल्प नभएको सर्केगाड गाउँपालिकाका–८ का किसान प्रबल बुढाको भनाइ छ । गाउँमा हुँदा केही हिउँदको महिनामा बालबालिका र आफैं उपभोग गर्नका लागि भण्डारण गर्ने गरे पनि स्याउको व्यावसायिकता तर्फ किसान उन्मुख नहुनु हुम्लाको समस्या भएको किसान बुढाको भनाइ छ । स्याउलाई घोडा वा खच्चडमा ढुवानी गर्दा स्याउमा चोट लाग्दा कुहिने भएकाले स्याउबाट किसान लाभान्वित हुन सकेका छैनन् ।

 बेमौसममा भण्डारण समस्या
जिल्लाको अन्य भूभागभन्दा सिमकोट गाउँपालिकामा विमानस्थल भएका कारण सिमकोटका किसानले स्याउबाट मनग्ये आम्दानी लिन सकेका छन् । एउटै किसानले मौसममा १ देखि ३ लाखसम्म स्याउबाट आम्दानी गर्ने गरेको सिमकोट गाउँपालिकाका किसान अदानसिँह रावतले बताए । आफूले मौसममा भन्दा बेमौसममा स्याउको बिक्री गर्दा फाइदा हुने रावतको अनुभव छ । सेलार स्टोरमा स्याउलाई मौसममा बिक्री नभएको जति स्टोर गरेर राख्ने गरेको र हिउँदका महिनामा स्याउको बिक्री गर्दा मूल्य पनि राम्रो पाइने रावतको अनुभव छ । सबै किसानले मौसममा स्याउको भण्डारण गर्नका लागि सोलार स्टोर नभएका कारण जति मात्रामा स्याउबाट लाभान्वित हुनुपर्ने हो त्यो हुन नसकेको अर्का किसान पेमा लामाको अनुभव छ । भण्डारण गर्नका लागि ज्ञान, सीप र प्रविधि थाहा नहुँदा अधिकांश किसानले स्याउबाट लाभ लिन नसकेको सिमकोट पालिकाका कृषि प्रमुख बलबहादुर फडेराले बताए । गाउँपालिकाले यस वर्ष ४० हजार स्याउका बोट वितरण गरिएको भए पनि किसानले संरक्षण नगर्दा हरेक वर्ष वितरण गरिएको स्याउबाट कृषक लाभाविन्त हुन नसकेको फडेराले बताए ।
हुम्लाका किसानले स्याउलाई तौलमा भन्दा गोटामा बिक्री गर्ने गरेका छन् । प्रतिस्याउको गोटा ठूलो दानाको १० रुपैयाँ र सानो दानाको ५ रुपैयाँको दरले स्याउ किसानको बारीमा नै बिक्री हुने गरेको छ । तौल गर्नका लागि अधिकांश किसानले नाप्ने मेसिन नभएको कारण सहजताका लागि स्याउलाई गोटामा बिक्री गर्ने गरेको पाइएको छ । स्याउलाई आवश्यक पर्ने मौसम, प्रविधिमा ध्यान पु¥याउनु पर्ने कुरा, भण्डारण र स्याउ खेतीको बारेमा यस वर्षबाट व्यावसायिक ज्ञान दिनका लागि आफू तयार रहेको कृषि ज्ञान केन्द्रका प्रमुख पूर्णलाल सापकोटाले बताए । स्याउमात्र नभएर आगामी दिनमा हुम्लाका हरेक कृषि उपजको बारेमा वैज्ञानिक खेती प्रणालीको बारेमा ज्ञान दिन कार्यालय लागि पर्ने सापकोटाले बताए । कृषकलाई विगतका वर्षमा भन्दा अझ व्यावसायिक खेती तर्फ उन्मुख गराउन नयाँ कार्यक्रमको साथमा स्थानीय तहलाई सूचना, जानकारी र कार्यक्रम सोहीअनुसार सञ्चालन गर्नका लागि प्रेरित गर्नमा कार्यालय लाग्ने सापकोटाले बताए ।
जिल्लाको मध्य भागमा खेती गरिने स्याउबाट सिमकोट पालिकाभन्दा बाहिरका किसानले भण्डारणको सीप सिक्न सके यसबाट प्रशस्त लाभ लिन सकिन्छ । स्याउबाट उत्पादन हुने अन्य परिकारमा किसानले ध्यान दिन सकेमा आर्थिक उपार्जन लिन सक्ने अवस्था छ । स्याउबाट जाम, जुस, चानालगायतको उत्पादन गरी आर्थिक लाभ लिन सक्ने सर्केगाड गाउँपालिका–२ का अगुवा कृषक दिपक फडेराको भनाइ छ । आफ्नो पालिकामा सडक नभएका कारण दाना स्याउभन्दा काटेर चानाको रूपमा सुकाएर प्याकिङ गरी काठमाडौंसम्म बिक्री गर्ने गरेको किसान दिपक फडेरा बताउँछन् । गत २ वर्षमा आफूले चाना मात्रबिक्री गरी ५ लाख कमाउन सफल भएको फडेराले बताए । सफा ठाउँमा स्याउको चानालाई सुकाएर प्लास्टिकको पोकामा प्याकिङ गरी प्रतिकेजी ५ सयदेखि ६ सयसम्म काठमाडौंमा लागि बिक्री गर्ने गरेका छन् । मौसममा बढी दानामात्र बिक्री हुने गरेको भए पनि बेमौसममा चानाबाट राम्रो आम्दानी गर्न सकिने किसानको भनाइ छ । बगैंचामा ३ सय बोट रोपेर राम्रो आम्दानी गरेका कृषक फडेरा हुम्लाका नमुना र अगुवा कृषक हुन् । दिपकले कृषि जेटीए पढेर विभिन्न गैरसरकारी कार्यालयमा काम गर्दै गर्दा किसानलाई प्रविधिको बारेमा जानकारी दिन आफू नमुना हुनुपर्ने भएकाले आफूले स्याउखेती गरेको बताउँछन् ।

सातामा धेरै पढिएको