कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५
1038

कहाँ–कहाँ सहायता कक्ष ?नागढुंगा, कलंकी, स्वयम्भू, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकालीटिकटमा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरिए तत्काल प्रहरीलाई खबर गर्नुस् : वसन्त पन्त, प्रमुख-महानगरीय ट्राफिक प्रहरी महाशाखा
–यात्रु ठगिनबाट रोक्न विभाग, प्रहरी र उपभोक्ता अधिकारकर्मी सम्मिलित संयुक्त अनुगमन टोली परिचालन गरेका छौं : लावण्यकुमार ढकाल-महानिर्देशक, यातायात व्यवस्था विभागचाडपर्व सुरक्षा-अनुगमन

• १३ स्थानमा यात्रु सहायता कक्ष
• प्रत्येक सवारीमा २ चालक अनिवार्य, दिउँसै मापसे जाँच
• टिकट काउन्टरमा सादा पोशाकका प्रहरी र अनुगमन टोली तैनाथ

चाडपर्वको मौका छोपेर सार्वजनिक यातायातमा बढी भाडा असुल्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि सार्वजनिक अपराध र ठगी मुद्दा चलाइने भएको छ । चाडपर्वलाई लक्षित गरेर व्यवसायीले अग्रिम टिकट बुकिङ खुल्ला गरेसँगै नेपाल प्रहरी तथा यातायात व्यवस्थापन विभागले अनुगमन संयन्त्रलाई सक्रिय बनाएका हुन् ।चाडपर्व लक्षित ठगी तथा कालोबजारी नियन्त्रण गर्न महानगरीय प्रहरीले यातायात व्यवस्था विभाग र उपभोक्ता अधिकरकर्मी सम्मिलित संयुक्त संयन्त्र र सादा पोशाकका छुट्टै सुरक्षाकर्मीलाई तैनाथ गरिसकेको छ । लामो दूरीमा चल्ने सार्वजनिक यातायातलाई व्यवस्थित र सहज पार्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना गरिसकेको छ । दशैं बनाउन हरेक वर्ष २० देखि ३० लाख सर्वसाधारण उपत्यका बाहिर जाने अनुमान छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार छोटो तथा लामो दूरीका सवारीलाई लक्षित गरी नागढुंगा, कलंकी, स्वयम्भू, नयाँबसपार्क, पुरानो बसपार्क, सुन्धारा, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकालीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।“चाडपर्वको मौका छोपेर सार्वजनिक सवारीमा कृत्रिम अभाव सिर्जना गरेर बढी मूल्य असुल्ने, नक्कली टिकट बिक्री गर्ने, मादकपदार्थ सेवन गरेर सवारी चलाउने लगायत सार्वजनिक तथा वित्तीय र आर्थिक अपराधमा संलग्नमाथि सुक्ष्म निगरानी राखिएको छ,” महाशाखा प्रमुख पन्तले भने, “चाडपर्वलाई व्यवस्थित र मर्यादित बनाउन सबै पक्षको सहयोग आवश्यक छ, अझ व्यापारी तथा चालक वर्ग त झनै संवेदनशील र यात्रुमैत्री हुनुपर्छ ।”चाडपर्व सुरक्षा योजना अन्तर्गत नै महानगरीय प्रहरीले बैंक तथा वित्तीय संस्था, बजार, कलकारखाना, उद्योग, प्रतिष्ठान, मठमन्दिर, शक्तिपीठ लगायतको सुरक्षामा पनि गस्ती बाहेक सादा पोशाकका जनशक्ति तैनाथ गराइएको छ ।यातायात व्यवस्था विभागले ४ वटा अनुगमन समिति नै गठन गरेर सक्रिय पारेको जनाएको छ । टिकट बुकिङसँगै यात्रीले समस्या झेल्न नपरोस् भनेर यातायात व्यवस्था विभागले ४ वटा अनुगन टोली गठन गरेको विभागका महानिर्देशक लावन्यकुमार ढकालले बताए । “यात्रुको सहजताका लागि हामीले ४ वटा अनुगमन टोली बनाएका छौं,” उनले भने, “विभिन्न स्थानमा प्रहरी र उपभोक्ता अधिकारकर्मी समेत सम्मिलित सहायता कक्षसमेत खोलेका छौं, यात्रुले कुनै समस्या झेल्नुपरे गुनासो गर्न सक्ने र तत्काल सम्बोधन हुनेगरी प्रभावकारी एक्सन लिइने छ ।”टिकटमा ठगिए वा बढी पैसा लिए यात्रुलाई गन्तव्यसम्म नपु-याएमा यात्रुले विभागको अनुगमन टोली वा हेल्प डेस्कमा खबर गर्न सक्ने उनको भनाइ छ ।यात्रुलाई सहज र सरल ढंगले गन्तव्यसम्म पु-याउन विभागले सबै सरोकारवालासँग समन्वय र सहजीकरणको भूमिका निर्वाह गर्ने उनले बताए । केहीदिन अघिमात्रै सरकारले लामो तथा छोटो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धि गरिसकेको छ । चाडपर्वको मुखमा भएको भाडावृद्धिले आम उपभोक्ता मारमा परेका छन् । यसबाहेक पनि व्यापारीले टिकट अभाव देखाएर बढी भाडा असुल्न सक्ने जोखिम रहेको अनुगमनमा सलग्न एक प्रहरीले बताए । गतवर्ष पनि दशैं-तिहार लगायत चाडपर्वको मौका छोपेर टिकटमा कालोबजारी, नक्कली टिकट बिक्री, दोहोरो बिक्री, ट्याक्सीमा हुने ठगी लगायतका अपराधमा संलग्न व्यापारी तथा चालक पक्राउ परेका थिए । प्रहरीले चाडपर्वकै लागि लामो दूरीका सवारीमा अनिवार्य २ जना चालकको व्यवस्था गर्न व्यवसायीलाई निर्देशन दिइसकेकको छ ।चाडपर्वमा खसीबोका, कुखुरा, हाँस, रागा-भैसी बिक्रीमा ठगी, कालोबजारी, चोरी लगायत गतिविधि हुनसक्ने, बिरामी पशुपन्छी बिक्री गर्ने लगायत गतिविधि नियन्त्रण गर्न पनि प्रहरी र खाद्य प्रविधि तथा गुणस्तर मापन कार्यालयका अधिकारीसँग समन्वय गरेर अनुगमन गरिने प्रहरीले जनाएको छ ।
मातृका दाहाल-शिव बोहरा